झापा, भदौ २ गते । गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताउनुभयो ।
उहाँका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२३च ५०९३ नं को कारमा क्षति भएको उहाँले जानकारी दिनुभयो । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उहाँको भनाइ छ ।
हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।