फाइल तस्वीर
काठमाडौँ, भदौ १ गते । नेपालमा हालसम्म देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेकोले देशैभरको मौसममा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज शनिबार बिहान बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ।

आज दिउँसो पनि देशभरको मौसममा साधारणतया बदली हुनेछ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज शनिबार राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।