काठमाडौँ, साउन ३२ गते । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापामाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै बिहीबार न्यायपरिषद्मा उजुरी परेको छ । विशेषका न्यायधीशहरुले भ्रष्टाचारीहरुलाई एकपछि अर्को उन्मुक्ति दिँदै आएको आरोप लगाउँदै भ्रष्टाचारविरुद्ध द डार्क फाइल अभियानका राजकुमार तिमल्सिनाले बिहीबार न्यायपरिषद्मा उजुरी दिनुभएको हो।

उजुरीमा आवश्यक छानबिनसहित न्यायाधीशहरुमाथि कारबाही नभएमा विशेष अदालतको गेट र न्यायपरिषद्विरुद्ध सात दिनभित्रमा सामूहिक आत्मदाह गर्ने चेतावनी दिइएको छ । उजुरीमा विशेष अदालतका न्यायाधीशहरुले भष्ट्राचारका मुद्दामा पटकपटक मुछिएका, कर्मचारी, नेता तथा व्यापारीलाई पटकपटक उन्मुक्ति दिने गरेको आरोप लगाइएको छ। विशेषले बुधबार मात्रै १ अर्बभन्दा बढी अनियमिततामा मुछिएका गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायत १४ जनालाई सफाइ दिएको थियो ।

कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजारको बिगो दाबी लिएको ५ वटा मुद्दामा सबै १४ जना आरोपितलाई २ महिनामै सफाइ दिने कार्यविरुद्ध गहन छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट