फाइल तस्वीर
दमौली, साउन ३० गते ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाई सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाई सुविधा उपलब्ध भएको छ ।

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाई सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाई कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०/८१ का लागि कार्यालयलाई पुँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएकामा २१ करोड रुपैयाँ खर्च भएको छ ।

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उहाँले बताउनुभयो ।