काठमाडौँ, साउन २९ गते । राजनीतिमा अलि विरलै जन्मिन्छन्, सादगी अनि जीवनभरि सत्यलाई अँगाल्ने नेताहरू । नेपाली राजनीतिले पाएको अनि गुमाएको एउटा त्यस्तै नेता हुनुहुन्थ्यो सुशील’दा । अर्थात् सुशील कोइराला । नेपाली राजनीतिको एउटा ऐतिहासिक परिवार हो–कोइराला परिवार । त्यही वंशको एक अंश हुनुहुन्थ्यो सुशील कोइराला । उहाँले कहिल्यै पद र लाभको लालच राख्नुभएन । जीवनपर्यन्त उत्तिकै ‘सादगी’ भएर उहाँ सदाका लागि बिदा हुनुभयो । तर राष्ट्र अनि जनतालाई केही अनमोल उपहारहरू दिनुभयो । देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्ना सारा जीवन पार्टी, सङ्गठन अनि प्रजातान्त्रिक लडाइँका लागि खर्चिनुभएका उहाँले आफ्नै निजी अनि राजनीतिक जीवनको अन्तिम बेला दिएको एउटा त्यस्तै ‘बेसकिमती’ उपहार हो– नेपालको संविधान २०७२ ।
विसं १९९६ साउन २८ गते विराटनगरमा जन्मिनुभएका सुशीलदा’ पिता बोधप्रसाद र माता कुमुदिनीका पहिलो सन्तान हुनुहुन्थ्यो । उहाँका अरू छ भाइ र एकजना बहिनी हुनुहुन्थ्यो । विराटनगरको कोइराला परिवार आफैँमा एउटा ऐतिहासिक परिवार हो । जसले नेपालमा राजनीतिको जग बसाएको थियो । देशमा प्रजातन्त्रको लहर त्यही परिवारबाट सुरु भएको थियो र त्यसको प्राप्तिका लागि कैयौँ आन्दोलन त्यही परिवारको देन थियो । अन्ततः नेपालमा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका उपलब्धिहरूमा कोइराला परिवारको अतुलनीय र अविराम योगदान रहेको छ ।
यो राजनीतिक परिवारमा रहनुभएका सुशीलदा’का पिता भने कर्मचारी हुनुहुन्थ्यो । सुशील कोइराला विराटनगरमा जन्मिनुभयो तर उहाँको परिवार भने नेपालगञ्जमा बसाइँ सरेको थियो । पिता बोधप्रसाद सरकारी जागिरे हुनुहुन्थ्यो र उहाँ जागिरको सिलसिलामा बाँके जिल्लाको नेपालगञ्ज जानुभयो । अनि परिवारलाई पनि त्यतैतिर राख्नुभयो । सुशीलदा’ले पछि आफ्नो राजनीतिक क्षेत्र पनि नेपालगञ्जलाई नै बनाउनुभएको थियो । २०४८ र २०५६ सालमा भएको आम निर्वाचनमा उहाँले नेपालगञ्जबाटै चुनाव जित्नुभएको थियो ।
राणा शासनको अन्त्यपछि लगभग २०१० सालतिरबाट बिपी कोइरालासँगै राजनीतिमा जोडिनुभएका उहाँ त्यसपछि जीवनभरि कोइराला परिवारसँगै राजनीतिमा गाँसिरहनुभयो । कहिल्यै पनि उहाँले आफ्ना लागि सुखसयलको जिन्दगी रोज्नु भएन । अनि कुनै लाभको पद पनि चाहनु भएन । गिरिप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिमकालमा उहाँलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । त्यसअघि उहाँ आफैँले कहिल्यै पनि आफ्ना लागि कुनै पद वा लाभ माग्नु भएन । बरु आफूसँग भएको सम्पत्ति बेचेर कुनै बेला बिपीलाई औषधोपचार गरेको कथा कहानीहरू कताकता लेखिएका छन् तर सुशीलदा’ आफैँले कहिल्यै आफ्नो स्वार्थका लागि कुनै पनि काम गर्नुभएन । त्यतिमात्रै होइन, उहाँ पार्टीमा केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म पनि हुनुभयो तर लाभका पदहरू वा जिम्मेवारीमा सधैँ अरूलाई नै रोज्नुभयो ।
सुशीलदा’ले सधैँ भन्ने गर्नुहुन्थ्यो, ‘राजनीति भनेको शक्तिको प्रदर्शन र त्यसको अभ्यास मात्रै होइन, बरु राजनीति भनेको त्यस्तो अभ्यास हुनुपर्छ जसले जनताको जीवनमा परिवर्तन आओस् अर्थात् उनीहरूका साधारण अनि आधारभूत आवश्यकहरू पूरा हुन सकून् ।’ अर्थात् राजनीतिलाई उहाँ आफैँले पनि कहिल्यै शक्ति प्रदर्शन र अभ्यासका रुपमा लिनुभएन । उहाँ सधैँ राजनीतिमा त्यो शक्तिको अभ्यास नभएर सही अभ्यास चाहिन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । जीवनका करिब १६ वर्षहरू उहाँले भारतमै निर्वासित भएर बिताउनुभयो । भारतमा रहँदा उहाँले नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको सन्देश दिन प्रकाशन थालेको ‘तरुण’ पत्रिका सम्पादन गर्नुहुन्थ्यो । अनि सँगै त्यो बेला उहाँले बिपी कोइरालाको अन्तिम अवस्थासम्मै सेवा गर्नुभयो । बिपी अस्वस्थ र उहाँलाई अप्ठ्यारो परेका बेला सुशील कोइराला आफैँले मजदुरी गरेर भए पनि बिपीको परिवार धानिदिनुभएको थियो । बिपीको परिवारसँग यस्ता सम्बन्धहरूका कारण पनि उहाँले राजनीतिमा नैतिकता, आदर्श अनि निष्ठालाई कहिल्यै डगमगाउन दिनुभएन ।
विसं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभएका उहाँ त्यसपछि महामन्त्री, उपसभापति र कार्यवाहक सभापति हुँदै निर्वाचित पार्टी सभापतिसम्म हुनुभयो । त्यसपछि मात्रै उहाँ देशको प्रधानमन्त्री हुनुभएको थियो । त्यो पनि देश एउटा सङ्क्रमणकालबाट गुज्रिरहेका बेला । नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएपछि उहाँ पूर्णकालीन पार्टी र सङ्गठनमै लाग्नुभयो । त्यही बेला जनमत सङ्ग्रहको लहरका बेला बहुदलका पक्षमा प्रचारप्रसार गर्न उहाँ नेपाली कांग्रेसका तर्फबाट निकै सक्रिय हुनुभएको थियो । त्यसपछि २०४६ सालको जनआन्दोलनका बेला गिरिजाप्रसाद कोइरालासँगै उहाँ पनि अग्रमोर्चामै खटिनुभयो तर त्यसपछिका उपलब्धिहरूमा उहाँले कहिल्यै लोभ देखाउनुभएन र लालच पनि राख्नुभएन । त्यो बेलामात्रै होइन, त्यसपछि पनि पटकपटक सरकारमा मन्त्री बन्न आएका प्रस्तावहरूलाई उहाँले अस्वीकार गर्नुभयो । यसबाट उहाँमा पद र प्रतिष्ठाको लोभ कत्ति पनि थिएन भन्ने प्रस्ट हुन्छ । लाभका यस्ता पदहरू छोडेर बरु उहाँले सधै पार्टी र सङ्गठनका लागि मात्रै आफूलाई समर्पित गर्नुभयो ।
विसं २०६७ मा भएको नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा उहाँ प्रत्याशी शेरबहादुर देउवालाई पराजित गर्दै नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभयो । त्यो बेला संविधानसभाको पहिलो निर्वाचन भएको थियो र माओवादी सत्तामा थियो । संविधान जारी गर्न सकस भइरहेको थियो । अन्ततः प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दोस्रो संविधानसभाको चुनाव गराउने जिम्मेवारी दिएर सरकारको जिम्मा लगाइछोडे । पहिलो संविधानसभा भङ्ग भयो । २०७० सालमा रेग्मी अध्यक्षताको सरकारले फेरि संविधानसभाको चुनाव गरायो । त्यही चुनावमा बाँके र चितवनबाटै सुशील कोइरालाले अत्यधिक मत ल्याएर विजयी हुनुभयो । संविधानसभामा नेपाली कांग्रसको संसदीय दलको नेतामा चुनिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपासहितको समर्थनमा उहाँ २०७० माघ २८ गते देशको प्रधानमन्त्री निर्वाचित हुनुभयो । उहाँ नेपालको ३७औँ र गणतन्त्र आइसकेपछिको छैटौँ प्रधानमन्त्री हुनुहुन्थ्यो ।
विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस ठूलो पार्टी भएको थियो । बहुमतप्राप्त यो पार्टीबाट प्रधानमन्त्री भएका कोइरालाको काँधमा मात्रै सरकार चलाउने जिम्मेवारी थिएन, बरु अघिल्लो संविधानसभाले अलपत्र पारेको संविधानलाई पूर्णता दिने असाधरण जिम्मेवारी बोकेर सुशीलदा’ सरकारको नेतृत्वमा जानुभएको थियो । राष्ट्र र जनताको हितमा सधैंँ चट्टानजस्तै अडान र अठोटमा अडिग रहने सुशीलदा’ले अन्ततः त्यो ऐतिहासिक जिम्मेवारी पनि पूरा गर्नुभयो ।
विसं २०७२ मा संविधान जारी गर्दा देशमा उस्तै अराजकता फैलिएको थियो । संविधानमा आफ्ना ‘अधिकार’ लेखाउन र आफू अनुकूलका धारा उपधाराहरू राख्न देशका सबै पक्ष लगभग आन्दोलनमै थिए । तराई–मधेस त एक प्रकारले विद्रोही जस्तै भइसकेको थियो तर कोइरालाले अरू सबै काम कुरा एकातिर राखेर सबैलाई अपनत्व महसुस हुने गरी संविधान जारी गरेरै छोड्नुभयो । देशभित्रै सलबलाइरहेका र बाह्य शक्तिलाई समेत माथ दिनेगरी कोइरालाले त्यो बेला देशका सबै राजनैतिक दलहरूलाई संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा एकढिक्का बनाउनुभयो । यसबाट उहाँमा भएको समन्वय र सामञ्जस्यताको क्षमता झल्किन्छ ।
पार्टी सभापति हुँदा सुशीलदा’लाई उहाँका अङ्गरक्षकले गाडीको बीचको सिटमा बस्न भन्थे तर उहाँले मान्नुभएन । उहाँले सधैँ भन्नुहुन्थ्यो, “मैले कसको के बिगारिदिएको छु र मलाई असुरक्षा हुने ?” यो भनेको उहाँमा भएको एक प्रकारको निष्ठा हो । जुन राजनीतिक निष्ठाले कसैको पनि अहित हुने काम गरेको छैन । बरु ती अङ्गरक्षकका रुपमा खटिएका सुरक्षाकर्मीले पटकपटक आफ्ना हाकिमका सामु स्पष्टीकरण दिनुपरेको थियो तर कहिल्यै उहाँ आफूमाथि कसैले कुदृष्टि राखेको छैन भन्नेमा ढुक्क हुनुहुन्थ्यो । न आफ्नो निजी जीवनलाई उहाँले तडकभडक बनाउनुभयो न राजनीतिक जीवनलाई ‘कुलीन’ बनाउनुभयो । उहाँले बिहे गर्नुभएन । आफ्नो निजी सम्पत्ति पनि राख्नुभएन । आफूसँग जे थियो त्यो सब पार्टी, सङ्गठन राजनीति र देश अनि नागरिकको अधिकारको लडाइँका लागि समर्पण गर्नुभयो ।
राजनीतिक निष्ठाका हिसाबले समकालीन राजनीतिज्ञहरूमध्ये सुशीलदा’ जत्तिको नेता अहिले नेपालमै छैनन् । त्यस्ता नेता पाउनका लागि कैयौँ राजनीतिक पुस्ता पर्खिनुपर्ने हुन्छ । कोइराला परिवारबाटै राजनीतिक दीक्षा पाएर सधँै त्यो परिवार र परिवारले अँगालेको राजनीतिक आदर्शको बाटोमा इमान्दारिताका साथ आफू र पार्टी अनि राजनीतिलाई हिँडाएका कोइरालामाथि उहाँका विरोधीहरूले विभिन्न आरोप पनि लगाए । उहाँलाई पार्टीभित्र ‘सकुनी’को सङ्ज्ञासमेत दिइयो तर उहाँ सधैँ पार्टीलाई सामूहिक निर्णयमा चल्नुपर्छ भन्ने बाटोमै लाग्नुभयो । अन्ततः उहाँप्रति बनाइएका त्यस्ता नकारात्मक भाष्यहरू आफैँ हराएर गए तर सुशीलदा’ले नेपाली राजनीतिमा छोडेको शान्त, सादगी र शक्तिशाली बिम्बहरू कहिल्यै मेटिने छैनन् ।