फाइल तस्वीर
बरहथवा (सर्लाही), साउन २९ गते । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा छ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४० रुपैयाँ, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार तीन सय १५ रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताउनुभयो । सवारीसाधन करबाट चार करोड ७३ लाख ११ हजार चार सय ३६ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

“हामीले चैत मसान्तमा एकै दिन ७० लाख रुपैयाँसम्म राजस्व सङ्कलन गरेका थियौँ”, उहाँले भन्नुभयो, “राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।” विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिनुभयो । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।