वेदकोट, साउन २७ गते । नजिकै जोगबुढा नदी बगिरहेको छ । खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ । दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो भनेर अझै त्रासमै छन् ।

थोरै पानी पर्दा पनि घर छोडेर विद्यालयमा आश्रय लिन जानुपर्ने बाध्यता कायमै छ । “मौसम राम्रो भएको बेला बस्तीमै बस्छौँ तर आकाशमा बादल लाग्ने बित्तिकै डरले घरमा बस्न सकिँदैन”, पटराखल्लाकी मिना सुनारले भन्नुभयो, “बस्तीमा कतिबेला बाढी पसेर के हुन्छ ? भन्ने डर लाग्छ । त्यसैले लालाबाला बोकेर विद्यालयमा रात कटाउँछौँ ।”

असार तेस्रो साता गएको बाढीले त्रसित यहाँका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउनुहुन्छ । “दिनभरी बस्तीमै काम गरे पनि बेलुका रात कटाउन विद्यालयमा जान्छौँ । फेरि बिहान घर फर्किन्छौँ । असार तेस्रो साता आएको बाढीपछि हाम्रो दिनचर्या यसरी नै चलिरहेको छ ।”

बस्ती नजिकै जमुना आधारभूत विद्यालय छ । यहाँ वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती महिला राती बास बस्ने गरेका छन् ।  “जोगबुढा नदी बस्ती पस्दा बास उठ्यो । घर भताभुङ्ग हुनुका साथै भित्रका अन्नपात, लत्ताकपडा सबै बगायो”, स्थानीय रामु मगरले भन्नुभयो, “होचो भूभाग हुँदा अझै पानी जमेकै छ । खै! कहिलेसम्म यस्तो हुने हो ?”

उहाँकानुसार थोरै वर्षा हुँदा पनि बस्ती डुबानमा पर्ने गरेको छ । यहाँका स्थानीयले विगतदेखि नै सुरक्षित आवासको व्यवस्थापन गरिनुपर्ने माग गर्दै आएका छन् । जोगबुढा नदीमा पक्की तटबन्ध निर्माणका लागि बारम्बार माग गरे पनि सुनुवाइ नभएको स्थानीय मंगल सुनारले गुनासो गर्नुभयो । “पक्की तटबन्ध निर्माण भए जोगबुढाको कटान र बाढी रोकिन्थ्यो । पक्की तटबन्ध निर्माण नहुँदा थोरै पानी पर्दा पनि डराइडराइ बस्नुपरेको छ”, उहाँले भन्नुभयो,“कि तटबन्ध गर्नुप¥यो कि त सुरक्षित आवासको  व्यवस्था गरिदिए हुन्थ्यो तर कसले सुन्ने हाम्रा कुरा !”

विसं २०२१ देखि बसोबास सुरू भएको यस बस्तीमा हाल ३६ परिवार छन् । हरेक वर्षायाममा यी परिवारले त्रास मै बस्नु परिरहेको छ ।