तस्वीरमा लेखक प्रा डा तीर्थप्रसाद मिश्र
बहुआयामिक प्रतिभा सम्पन्न, आजन्म सरस्वतीभक्त, सत्यतथ्यको खोज तथा प्रकाशनमा अनवरत र अथकित अन्वेषण गर्ने, नेपाली इतिहासलेखन विधाका सशक्त सारथि, गणितज्ञ, ज्यौतिष, बहुभाषाविद्, शैक्षिक पुनर्जागरणका अग्रणी, साहित्यकार जस्ता अनेकौँ विशेषता भएको मानवताका एक सरल पात्रको नाम हो; नयराज पन्त । नेपालको शिक्षाको इतिहासमा सर्वाधिक चर्चित उहाँ जस्ता व्यक्तित्वको गुणानुवर्णन शब्दकोशमा भएका सबै सकारात्मक विशेषणले भर्दा पनि अपुरो र अधुरो नै रहन्छ । नयनाथ पौडेल, अच्युत अधिकारी जस्ता सज्जनहरूले उहाँका सन्दर्भमा अनुसन्धान नै गरी विद्यावारिधि हासिल गरेको प्रसङ्ग स्मरणीय छ । यस्ता युगपुरुष नयराज गुरुको ११२ औँ जन्मजयन्तीका अवसरमा यस लेखमा केही चर्चा गर्न खोजिएको छ ।
उहाँको जन्म १९७० साउन २६ गते काठमाडौँमा भएको थियो । करिब डेढ वर्षमा नै पिताजी गुमाउनुभएका पन्तको शिक्षादीक्षा पालनपोषण मावली बाजे पण्डित भुवननाथ पाँडेबाट भएको हो । बाजेकै प्रेरणा र आशीर्वादबाट उहाँ इतिहासको अध्ययन तथा अनुसन्धानतर्फ केन्द्रित हुनुभएको सन्दर्भको चर्चा स्वयम्ले गर्नुभएको छ । उहाँले १९ वर्षको उमेरमा १९८९ सालमा भारतको बनारसमा ज्यौतिष विषयमा अध्ययन कार्य थालनी गर्नु भई ज्योतिष विषयमा नै स्नातकोत्तर तह अब्बल श्रेणीमा उत्तीर्ण गरेपछि १९९५ सालमा काठमाडौँ फर्कनुभयो । प्रारम्भमा रुद्रराज पाण्डेको सदासयबाट गुठी अड्डाका पुराना कागज अध्ययन, टिपोट र संरक्षण गर्ने काम पाउनुभयो । विसं १९९७ सालदेखि भाषानुवाद परिषद्मा काम गर्न प्रारम्भ गरी सोही सालदेखि नै रानीपोखरी संस्कृत पाठशालामा पढाउने दायित्व पनि ग्रहण गर्नुभयो । करिव ६ दशकसम्म निरन्तर राष्ट्रसेवामा समर्पित पण्डित नयराज पन्तले २००८ सालसम्म रानीपोखरी संस्कृत पाठशालामा पठनपाठन गर्नुभयो । विसं २०१० सम्म नेपाली भाषा प्रकाशिनी समितिमा र विसं २००८ देखि २०२२ सम्म नेपाल राजकीय संस्कृत विद्यालयमा सेवा गर्नुभएको थियो । विसं २०३३ देखि २०३५ सम्म त्रिभुवन विश्वविद्यालयमा सेवारत रहनुभएका पन्तले २०३६ सालदेखि चार पटकसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य भई उल्लेख्य सेवा गर्नुभएको थियो ।
पन्तले २००९ सालमा संशोधन मण्डल र गुरुकुलको परम्पराअनुसार पठनपाठन गर्ने पाठशाला पनि स्थापना गर्नुभयो । सोही पाठशाला र संशोधन मण्डलको उद्देश्यलाई सार्थक बनाउन सदैव तपस्यारत रहनुभयो । संस्कृत, हिन्दी र नेपाली भाषामा विशेष दख्खल राख्नुभएका पन्त गुरु अंग्रेजी पढ्ने र बुझ्ने समेत सामथ्र्य राख्नुहुन्थ्यो । नेपाली भाषामा नेपालको प्रामाणिक इतिहासको पुस्तक सर्वथा अभाव भएको अवस्थामा २००४ सालमा नयराज पन्तले तोत्रराज पाँडेसँग मिलेर नेपालको संक्षिप्त इतिहास प्रकाशन गर्नुभएको थियो । पन्त गुरुकै शिष्यहरूले तयार पारेको ऐतिहासिक पत्रसङ्ग्रह (भाग १ र २), जयरत्नाकर नाटक, इतिहास संशोधनको प्रमाण–प्रमेय, अभिलेखसङ्ग्रह जस्ता ग्रन्थमा उल्लेख भएका उपोद्घातबाट उहाँको विलक्षण क्षमता बुझ्न सकिन्छ । विसं २०२५ मा उहाँकै निर्देशनमा देवीप्रसाद भण्डारी, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य तथा दिनेशराज पन्तद्वारा तयार पारिएको श्री ५ पृथ्वीनारायण शाहको उपदेश प्रकाशित भयो । विसं २०२९ मा उहाँका प्राचीन र नवीन गणितको तुलना र २०४३ सालमा लिच्छवि संवत्को निर्णय प्रकाशित भए । संशोधन मण्डलबाट तयार पारिएका सावधानपत्र र मुखपत्र पूर्णिमा पन्त गुरुको अनुसन्धानकै उपज हुन् । पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरूबाट नेपालको इतिहासको क्षितिज नै फराकिलो हुन पुगेको छ । पन्त गुरुका पद्य साहित्यका कुरा, पण्डित गोपाल पाँडे र उनको धनमूल ल्याउने नीति, हिन्दु सिद्धान्त ज्यौतिष र ग्रीक ज्यौतिषको तुलना, रत्नदीप, विश्रान्ति, सुमतितन्त्रलगायत करिब ३० वटा ग्रन्थ प्रकाशित भएका छन् ।
उहाँ नेपालको इतिहासलेखन विधाका भीष्मपितामह हुनुहुन्छ । इतिहास तथ्य र प्रमाणको आधारमा लेखिनुपर्छ भन्ने उहाँको मान्यता थियो । लिच्छवीकालदेखिका अभिलेख शिलालेखहरूको खोजी तथा सङ्कलन र व्याख्या तथा विश्लेषण गर्ने कार्यमा पनि उहाँ अग्रणी नै हुनुहुन्थ्यो । उहाँकै निर्देशनमा धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, शंकरमान जोशी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, ज्ञानमणि नेपाल तथा महेशराज पन्तले अभिलेखको खोजी गरी प्रकाशन गरेका थिए । उहाँबाटै दीक्षित भएका धनवज्र वज्राचार्यले लिच्छवीकाल, मध्यकाल र शाहकालका अभिलेखहरू सङ्कलन गरी प्रकाशनमा ल्याएका छन् । भगवान्लाल इन्द्रजी तथा नोलीहरूले अभिलेखहरूको पठन र व्याख्यामा गरेका कमजोरीहरू पनि उहाँले औल्याउनुभएको छ ।
नेपाली विद्वान्हरूले विदेशीहरूले लेखेका कृतिहरूलाई परीक्षण नै नगरी लेख्ने गरेकामा कटु आलोचकका रूपमा उहाँ प्रस्तुत हुनुभयो । सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, ढुढडीराज भण्डारी आदिले लेखेका किताबमा भएका त्रुटि तथा कमीकमजोरी र इतिहास दर्शनको विपरीत भएका विवरणहरूको सप्रमाण खण्डन गर्ने जस्ता कार्य संशोधन मण्डलबाट भयो । यसबाट आफूलाई स्थापित इतिहासकार भन्न रुचाउने कतिपय व्यक्तिहरू नाखुस पनि भए । विदेशीहरूले प्रवाह गरेको सूचना र घटनालाई परीक्षण नै नगरी अनुसरण गर्ने तथा संशोधन मण्डलद्वारा प्रकाशित ग्रन्थहरूको आधारमा ऐतिहासिक घटनाको विश्लेषण गर्ने तर स्रोत चाहिँ नखुलाउने विद्वान्हरूको त गुरुले उछितो नै काट्नुभयो । उहाँले विश्वविद्यालयमा इतिहास नै पढाउने शिक्षकहरूको क्षमता र योग्यता तथा उनीहरूका प्रकाशनमाथि पनि प्रश्न उठाउनुभयो । राणाकालको स्तुतिगान गर्ने लेखकहरूले नै २००७ सालपछि राणाहरूलाई नै तथानाम गाली गरे । उनीहरूको यस्तो अवसरवादी प्रवृत्तिको पनि उहाँले उजागर गरिदिनुभयो । यस्ता कार्यले गर्दा नेपालको इतिहासमा कलम चलाउनेहरू सचेत मात्र भएनन्, प्रामाणिक इतिहास लेखनतर्फ पनि अग्रसर भए । पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरू त इतिहासलेखन र शोध कार्य गर्नेहरूका लागि असल खुराक बन्न पुगे । आज पनि नेपालका लिपि विशेषज्ञहरू सबै पन्त गुरुका शिष्य नै छन् ।
उहाँले स्थापना गरेको गुरुकुलबाट दीक्षित चेलाहरूले स्वदेश र विदेशमा पनि प्रसिद्धि कमाएका छन् । धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्त जस्ता गुरुका अब्बल शिष्यहरू स्थापित इतिहासकार बन्न पुगेका छन् । त्यसैगरी देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल आदिले पनि आआफ्ना क्षेत्रमा ख्याति आर्जन गर्न सफल भएका छन् । आफ्ना शिष्यहरूको कार्यबाट प्रसन्न हुने गुरुको बानी थियो । उहाँले आफूले पाएको सुप्रबल गोर्खा दक्षिण बाहु पदक पनि तिनै योग्य शिष्यको कारणले पाएको हो भन्ने कुरा उल्लेख गर्नुभएको छ । उहाँले आफ्ना चेलालाई सम्बन्धित क्षेत्रमा विज्ञ र दक्ष बनाउनुभयो भने तिनै शिष्यले गुरुको नाम पनि अमर बनाएका छन् । संसारमा एउटै गुरुबाट यति सङ्ख्यामा विशेषज्ञ जनशक्ति उत्पादन गरेको घटना बिरलै पाइन्छ होला ।
उहाँले आफ्नो सिद्धान्त, आदर्श, मान्यता र कार्यलाई स्वीकार्य बनाउन ठूलो तपस्या गर्नुभएको थियो । उचित प्रश्रय, सदासयता, प्रशंसा र खातिरदारी नपाउँदा पनि उहाँको अर्जुनदृष्टिमा परिवर्तन भएन । बिस्तारै उहाँको ईष्र्या गर्ने, खेदो खन्ने तथा प्राज्ञिक क्षमतालाई अवमूल्यन गर्नेहरू पनि उहाँको प्रशंसक बन्दै गए र संशोधन मण्डलको योगदानप्रति नतमस्तक हुँदै गए । नयराज पन्त र उहाँका शिष्यहरूले पाएको सम्मान, पुरस्कार र सराहनाबाट यो कुरा निर्विवाद तथ्य सावित भइसकेको छ । नयराज गुरुले २०४२ सालमा लिच्छवि संवत्को निर्णय ग्रन्थमा मदन पुरस्कार पाउनुभएको थियो भने २०४५ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार पाउनुभएको थियो । उहाँले २०५३ मा आदिकवि भानुभक्त पुरस्कार र २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको थियो । मदन पुरस्कारका लागि स्वयम्ले निवेदनसमेत नदिएर प्रकाशकले दिएको प्रसङ्गको चर्चा कमलमणि दीक्षितले गर्नुभएको छ । यथार्थमा भन्ने हो भने यी सम्मान प्रदान गरेर गुरुभन्दा पनि स्वयम् सम्मान गर्ने संस्था नै सम्मानित हुन पुगेका छन् ।
प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूले आफू पदमा रहँदा कति उल्लेख्य काम गरे, अनुसन्धान गरे, ग्रन्थ प्रकाशन गरे ? त्यसको लेखाजोखा कसैले गरेको पनि छैनन् तर प्रज्ञा प्रतिष्ठानले गुरुबाट अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गरेको कुरा त्यसबेला उहाँबाट प्रकाशित भएका ग्रन्थ लेखरचनाहरूबाट स्पष्ट हुन्छ । दण्डवते नीति र कार्यबाट सदैव पृथक् रहने तथा राजनीतिमा नलाग्ने तर सरोकार राख्ने उहाँको विशेषता थियो । राणा, राजा र कांग्र्रेस नामक कृतिमा उहाँको दैनिकीमा उल्लेख भएको बुँदाबाट यो कुरा स्पष्ट हुन्छ । उहाँले विसं २००७ कात्तिकदेखि २००८ सालसम्मका महत्त्वपूर्ण घटना टिपिएको डायरी २०८० सालमा उहाँका पुत्र एवम् शिष्य डा महेशराज पन्तले सम्पादन र अनुवाद गरी प्रकाशन गरेका छन् । यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलगायत सबैले राजीनामा दिँदा पनि उहाँले दिनुभएन, आफ्नै आदर्श मान्यतामा अडिग रहनुभयो । विसं २०४६ पछि गठित प्राज्ञमा उहाँलाई समावेश गरी प्रज्ञा प्रतिष्ठानको गरिमा बढाएको प्रसङ्ग स्मरणीय छ । ज्योतिषका प्रकाण्ड विद्वान् हुनाले ऐतिहासिक काल गणनाको निम्ति उहाँले पहिल्याउनुभएको परम्परागत कालगणना वैज्ञानिक र विश्वसनीय हुन पुगेको छ । संस्कृत वाङ्मयमा पारङ्गत गुरु नयराज नेपालको ऐतिहासिक तथ्योत्खननमा प्रथम आचार्य र एक सिङ्गो संस्था हुनुहुन्थ्यो भने उहाँ स्वयम् एक इतिहास हुन पुग्नुभएको छ ।
साधारण पहिरन रहनसहन खानपिनमा रमाउने उहाँ सरस्वतीभक्त हुनुहुन्थ्यो । लक्ष्मीको पछाडि उहाँ कहिल्यै पनि लाग्नुभएन यही कारणबाट नै नयराज पन्त सर्वमान्य गुरु नयराज पन्त हुन सक्नुभयो । आफ्नो कमाइ सबै संशोधन मण्डलको लालनपालनमा खर्च गर्नुभयो । कसैबाट कुनै अपेक्षा गर्नुभएन, कसैसँग हात पसार्नुभएन । यस्ता विद्वान् त अब इतिहासमा मात्र भेटिने आँकलन गर्न सकिन्छ । पाश्चात्य विद्यालाई भन्दा प्राच्य विद्यालाई महत्त्व दिने पन्त गुरु शैक्षिक संस्थाबाट प्राप्त हुने त्रिखण्डी शिक्षाबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्ने अडानमा दृढ रहनुभयो । ज्योतिषशास्त्रमा उहाँले प्रतिपादन गर्नुभएका सिद्धान्त र विश्लेषणबाट विश्वमा नै उहाँ जस्ता व्यक्तित्व नभएको टिप्पणी पनि गर्ने गरिएको छ । कथ्य, मिथ्य र तथ्यको मिश्रण गरी इतिहास लेख्ने र वंशावलीलाई नै इतिहास हो भन्ने मानसिकता बोकेको जमानामा उहाँ इतिहास सत्य र तथ्यमा आधारित हुनुपर्छ, इतिहास विज्ञान र कला दुवै हो भन्ने सिद्धान्तका प्रणेता हुनुहुन्थ्यो । वास्तवमा नेपालको इतिहासलेखन विधाका महारथी नै पण्डितराज नयराज पन्त हुनुहुन्थ्यो । यस्ता व्यक्तिका विषयमा सरकारबाटै अध्ययन अनुसन्धान गर्ने तथा नाममा प्रतिष्ठान स्थापना हुनुपर्ने आवाज उठ्न थालेको छ तर यो आवाज सरोकारवालासम्म पुग्न सकेको छैन । यस्ता व्यक्तिको स्मरणबाट मुलुककै प्रतिष्ठा बढ्ने र भावी पुस्तालाई प्राज्ञिक खुराक मिल्ने कुरामा दुईमत नहोला । उहाँले देखाउनुभएको मार्गको अनुशरण गरेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनछ । उहाँको नश्वर शरीर जहाँ पुगे पनि उहाँका कृति तथा योगदान र संशोधन मण्डलले गुरुलाई अजरामर बनाएका छन् । (लेखक संस्कृतविद् हुनुहुन्छ)