ब्राजिल, साउन २६ गते । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटनामा परेको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको लागि यात्रुहरु लिएको उडेको उक्त विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जना यात्रुको मृत्यु भएको छ ।

दुई इन्जिन भएको टर्बोप्रप उक्त विमान उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ। गन्तव्यका लागि उडिरहेको उक्त विमान एक्कासी तल झर्दैगरेको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत प्रसारण भएको देखिन्छ । भिडियो क्लिपमा विमान ठाडै तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ।

एटीआर ७२–५०० विमानमा चालक दलका चार सदस्य र ५७ यात्रु सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । उक्त हवाई दुर्घटनालाई लिएर साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ।

अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त गरिसकेको बताएका छन् । फ्रान्सेली–इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

विमान आवासीय क्षेत्रमा खसे पनि तर जमिनमा कोही पनि घाइते नभएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएको समाचारमा जनाइएको छ।