तस्वीरमा व्यावसायिक रुपमा गरिएको ड्रागन खेती ।
पाल्हीनन्दन, साउन २५ गते । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।
वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गर्नुभएको छ । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
सात लाख रुपैयाँको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिनुभयो । यस वर्ष बजारीकरणमा कुनै समस्या आएन भने सात लाख रुपैयाँ बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
जिल्लामा सातजना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताउनुभयो । बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।