काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।
नागको पूजा गरी नागको तस्वीर घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने छ ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मानिन्छ। श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ ।
विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ। जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ। नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् ।