काठमाडौँ, साउन २४ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग आज अर्थ मन्त्रालयमा भएको छुट्टा–छुट्टै छलफलमा अर्थमन्त्री पौडेलले आज सम्बन्धित राष्ट्रिय गौरवका आयोजना र अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

यसैगरी राम्रो प्रतिफल दिने, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले अध्ययन गरेर प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गर्दा स्रोत साधनको सही सदुपयोग हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गर्नुभएको थियो ।

खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग छलफल गर्नु भएको थियो ।