फाइल तस्वीर बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलन
ढाका, साउन २४ गते । बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनले हिंसात्मक रुप लिएपछि सुरक्षाको समस्या देखाउँदै त्यहाँका सयौँ नागरिकहरु भारत प्रवेशका लागि भारत–बङ्गलादेश सीमा क्षेत्रमा भेला भएका छन् ।

आरक्षण कोटाको विरोध गर्दै आएका विद्यार्थीहरुको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतको शरणमा पुग्नुभएकी शेख हसिनालाई सत्ताच्यूत मात्र गरेको छैन् त्यहाँ रहेका अल्पसङ्ख्यक हिन्दूहरु, उनीहरुकोे स्वामित्वमा रहेका केही व्यवसाय र घरहरुमा आक्रमण हुन थालेपछि सुरक्षा खोज्दै भारतीय सीमा क्षेत्रमा पुगेको समाचारमा जनाइएको छ ।

“सयौँ बङ्गलादेशी नागरिक प्रायः हिन्दूहरू, बङ्गलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,” भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताउनुभयो ।

पश्चिमबङ्गाल राज्यको भारतीय सिमाक्षेत्रको अन्तिम विन्दुमा दुईसय जना र पश्चिमबङ्गाल राज्यको जलपाईगुडी जिल्लामा छ सयभन्दा बढी भेला भएका त्यागीले बताउनुभयो ।

“दुई देशबीचको सिमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए । अधिकारीहरूले सिमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,” उहाँले भन्नुभयो ।

सन् २००९ देखि सत्तामा रहनुभएका ७६ वर्षीया शेख हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएर भारतमा शरण लिनुभएको थियो । त्यसपछि बङ्गलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उहाँका समर्थक र पार्टीका अधिकारीमाथि आन्दोलनकारीहरुले आक्रमण गरेको समाचारमा जनाएएको छ ।

बङ्गलादेश हिन्दु, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तिमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।