फाइल तस्वीर
तनहुँ, साउन २४ गते । जिल्लाको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई १३ लाख ८० हजार रुपैयाँअनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो ।

उक्त कार्यक्रमबाट तीन सय ४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा विनयकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिहलगोरु चार हजार रुपैयाँ अनुदान दिने गाउँपालिकाको नीतिअनुसार तीन सय ४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ । यस कार्यक्रमका लागि सुरुमा १० लाख रुपैयाँ विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाहले बताउनुभयो ।

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई सुझाव दिनुभयो । आव २०७९/८० मा दुई सय ५० किसानलाई अनुदान उपलब्ध गराइएको थियो । प्रोत्साहन रकम पाएपछि हलगोरु संरक्षणमा सहयोग पुग्ने भन्दै किसान खुसी भएका छन् ।

गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै किसानलाई बैङ्किङ प्रणालीमार्फत रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।