जीर्णोद्वार गरिएको पञ्चायत घर ।
बागलुङ, साउन २४ गते । बागलुङ जिल्लाको तमान गाउँमा रहेको पञ्चायत घर १० लाख रुपैयाँ खर्चेर जीर्णोद्धार गरिएको छ । तमानखोला गाउँपालिकाले स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार गरेको हो ।

सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गर्न लागिएको उक्त घर तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको दश लाख रुपैयाँ र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।

वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायत घरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताउनुभयो ।

पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो ।