फाइल तस्वीर
काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेपालमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको आज साँझ पाँच बजे हुने फाइनल खेल हेर्न जानुहुने भएको छ ।

नेपाल र भारतबीच आज हुन लागेको फाइनल खेल हेर्न र नेपाली महिला भलिबल टिमलाई उत्साहित बनाउन प्रधानमन्त्री ओली त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जानुहुने सचिवालयले जनाएको हो ।

पाँच राष्ट्रका टिमको सहभागिता रहेको काभामा घरेलु टोली नेपालले हिजो सम्पन्न भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटले पाखा लगाउँदै फाइनलमा पुगेको हो । हिजो नै भएको अर्को सेमिफाइनलमा भारतले पनि श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै नेपालसँग फाइनलमा भिड्ने पक्का गरेको हो ।

यस अघि नेपालले लिग चरणमा भारतमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने उच्च मनोवलका साथ मैदानमा उत्रने छ । भारतले पनि लिग चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ ।

दक्षिण एसियाको पावर हाउसको रुपमा रहेको भारतीय टिमलाई समूह चरणमा हराएको नेपालको मनोबल उच्च देखिन्छ । सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इरानलाई सोझो सेटमा हराएको नेपालले भारतसँगको खेलमा त्यहि लय समाउनेमा प्रशिक्षक जगदिश भट्ट र नेपाली टिमकी कप्तान अरुणा शाही विश्वस्त देखिएका छन् । जारी काभाको फाइनलमा नेपालले भारतलाई हराएर उपाधि चुप्न सके नेपाली महिला भलिबल टिमले नयाँ इतिहास कोर्नेमा कुनै सन्देह रहन्न ।
घरेलु दर्शकहरुको साथ उपाधि चुम्ने लक्ष्यलिंदै नेपाली महिला भलिबल टिम आज पाँच बजे मैदानमा ओर्लिदै