कोलम्बो, श्रीलङ्काको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।

श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।

एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भन्नुभयो, “सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।”

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने उहाँको कार्यबाल सन् २०१५ जनवरीमा समाप्त भएको थियो ।

उहाँका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा बिजय हुनुभएको थियो भने सन् २०२२ मा श्रीलङ्कामा चरम आर्थिक सङ्कटपछि उहाँलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो ।

एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।