फाइल तस्वीर
ढाका, साउन २३ गते । बङ्गलादेशमा मोहम्द युनुसको नेतृत्वमा अन्तरिक सरकार गठन भएको छ । बङ्गलादेशको पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै युनुसको नेतृत्वमा बङ्गलादेशमा हिजो राति अन्तरिक सरकार गठन भएको हो ।

आरक्षणको विरोधगर्दै चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएर देश पुरै आन्दोलित भएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिंदै शरणका लागि भारत प्रस्थान गरेपछि हिजो मोहम्मद युनुसको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले १२ औँ संसद् विघटन गरेपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको बङ्गलादेशी पत्रिका न्यूएजले उल्लेख गरेको छ ।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि बङ्गलादेशमा सेना प्रमुखले एक सम्बोधन गर्दै आन्दोलनकारीहरुलाई संयम रहन आग्रह गर्दै छिट्टै नयाँ सरकार बन्ने बताउनुभएको थियो । सोही क्रममा त्यहाँका सेना प्रमुखले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको एक दिनपछि हिजो मङ्गलबार बङ्गभवनमा भएको संयुक्त बैठकबाट नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रधानमन्त्री चयन गर्ने सहमति भएपछि युनुस बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्नुभएको हो ।

अन्तरिम सरकारमा जाने मन्त्रीहरुको बारेमा राजनीतिक दल र अन्य सरोकार पक्षहरुसँग छलफल गरी सरकारमा पठाउने त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अब एक÷दुई दिनमै सरकारमा जाने व्यक्तिहरु चयन हुनेछन् ।

यता भारतको शरणमा पुग्नु भएकी निवर्तमान प्रधानमन्त्री शेख हसिनालाई बेलायतले शरण नदिने बताएको छ । हसिनाले भारतमा भन्दा अन्यदेशमा निर्वासित जीनव विताउन चाहेको हो कि भन्ने देखिएको छ ।