धनुषा, साउन २२ गते । मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आज बसेको प्रदेशसभाको दोस्रो बैठकबाट संशोधनकर्ता संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक सर्वसम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।

स्थानीय तहका कर्मचारीको हकमा प्रदेश सरकारले कानुन बनाउने संवैधानिक व्यवस्था बमोजिम विधेयक पारित भएको हो ।   विधेयकमा उठेका विभिन्न जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहले जवाफ दिँदै विधेयकका विषयमा प्रदेशसभाका सदस्यले उठाउनुभएका विषय लोकसेवा आयोगको परामर्शमा नै राख्ने काम भएको र धेरै सुझाव विधेयकमा समेट्ने काम भएको जानकारी दिनुभयो ।

यसअघि विधेयकको नाम, प्रस्तावनासहित दफा २ देखि १५९ सम्मका भाग पारित गरेर विधेयकको भाग बनेको जानकारी सभामुखले गराउनुभएको थियो ।