फाइल तस्वीर
काठमाडौँ, साउन २२ गते । मुलुकभरको मौसममा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभावले हाल मुलुकभरको मौसम साधरणतया बदली भई सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ मनसुनी वायुको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ ।

आज मङ्गलबार दिउँसो पनि मुलुकभरको मौसम साधरणतया बदली रहने र देशका सातै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मङ्गलबार राति पनि साधरणतया देशैभरीको मौसममा बदली हुने जनाइएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

सातै प्रदेशमा धेरै भारी वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।