फाइल तस्वीरः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना।

काठमाडौँ, साउन २१ गते । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएपछि त्यहाँ अन्तरिम सरकार बन्ने भएको छ । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज सोमबार देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अब अन्तरिम सरकार बन्ने बताउनुभएको हो ।

सेना प्रमुख जमानले सम्बोधनका क्रममा प्रधानमन्त्री हसिनाले राजीनामा दिएको जानकारी दिनुहुँदै अब नयाँ अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ । देशबासीलाई सम्बोधन गर्दै सेना प्रमुख जमानले भन्नुभयो “हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौँ । हामी अब अन्तरिम सरकार गठनको विषयमा राष्ट्रपतिसँग छलफल गर्छौँ । हामीलाई विश्वास गर्नुहोस् ।”

आफूले देशका विपक्षी राजनीतिक दलहरूसँग कुरा गरिसकेको भन्दै सेना प्रमुख जमानले आजै एउटा समाधान निस्किने अपेक्षा गरेको बताउनुभयो । यद्यपि कसले अन्तरिम सरकारको नेतृत्व गर्छ भन्ने विषयमा भने सेना प्रमुखले केही खुलाउनुभएको छैन ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थीको आन्दोलन चर्किदै जाँदा आन्दोलन हिंसात्मक अवस्थामा प्रवेश गरेको थियो । सो आन्दोलनकै कारण भड्किएको हिंसाले अहिलेसम्म बङ्गलादेशमा तीन सयजनाभन्दा बढिले ज्यान गुमाइसकेका छन् भने कयौं नागरिकहरु घाइत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

बङ्गलादेशका सेनाप्रमुखले आज सम्बोधनका क्रममा विगत केही सातामा सयौँ नागरिकहरुको मृत्यु भएपछि प्रदर्शनकारीहरूले गरिरहेको “न्यायको माग’’ सम्बोधन गरिने पनि बताउनुभएको छ । सो क्रममा सेनाप्रमुखले शान्ति सुव्यवस्था कायम गर्नका लागि सघाउन सघाउन पनि आग्रह गर्नुभएको छ । द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसैगरी, बिबिसी बंगला सेवाका अनुसार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाड्नुभएको छ । देश छोड्दा उहाँकी बहिनी शेख रेहाना पनि सँगै हुनुहुन्थ्यो ।

प्रदर्शनकारीहरुको आन्दोलन थप हिंसात्मक बनेपछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएर भारत प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री हसिना हेलिकोप्टरमा भारतको अगरतला प्रस्थान गर्नुभएको बिबिसी बङ्गलाले जनाएको छ । साथै रोएटर्सले सैनिक हेलिकोप्टर चढेर उहाँ र उहाँको परिवारका सदस्यहरू सुरक्षाका दृष्टिकोणले भारत प्रस्थान गरेको बताइएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेका थिए । प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गर्नु अघिनै प्रधानमन्त्री हसिनाले निवास छाडेर हिंडिसक्नुभएको समाचारमा जनाइएको छ । केही प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको सरकारी निवासमा लुटपाट गरेको, केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको सार्वजनिक भएको छ ।

सोमबार बिहानैदेखि ढाका विश्वविद्यालय, बङ्गलादेश टेलिभिजनको मुख्यालय र मेट्रोरेलसहित राजधानीका विभिन्न स्थानमा सैन्य टोलीहरू परिचालन गरिएको थियो ।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए ।