शपथ लिंदै काङ्ग्रेसका नवनियुक्त मन्त्रीहरु ।
फाइल तस्वीर

सुर्खेत, साउन २० गते । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली काङ्ग्रेस आजदेखि समावेश भएको छ । एमाले र नेपाली काङ्ग्रेसबीच बनेको गठबन्धनको नयाँ समीकरणबाट बनेको कर्णाली प्रदेश सरकारमा सामेल हुनुभएका काङ्ग्रेसका चार जना मन्त्रीहरुले प्रदेश प्रमुख यज्ञराज जोशीसँग आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

काङ्ग्रेस सांसद राजीवविक्रम शाहको नेतृत्वमा सरकारमा गएका मन्त्रीहरुमध्ये शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय, घनश्याम भण्डारीले सामाजिक विकास मन्त्रालय, सुरेश अधिकारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र विजया लामाले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

नेपाली काङ्ग्रेसले शुक्रवार नै मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो । मुख्यमन्त्री कँडेलले आर्थिक मामिला तथा योजना मन्त्रालय आफैसँग राख्न खोजेपछि काङ्ग्रेसबाट सरकारमा जाने मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन । कर्णाली प्रदेश सरकारमा नेपाली काङ्ग्रेसलाई चार र एमालेलाई मुख्यमन्त्री र अरु तीन मन्त्रालय भागबण्डामा परेको थियो ।

एमालेबाट मुख्यमन्त्री बन्नुभएका कँडेलले भोलि सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ । काङ्ग्रेस सरकारमा सहभागी भएसँग मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

एमाले र काङ्ग्रेसबीच सत्ता गठबन्धनको नयाँ समीकरण बनेपछि नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो ।