फाइल तस्वीर


लेबनान, साउन २० गते । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ । यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए । तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ ।

हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको हो । आइतवार राति, हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई तटस्थ गरेको देख्न सकिन्छ । कसैको मृत्युको बारेमा जानकारी भने खुलेको छैन । जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् ।

यसैबीच रुसले पनि आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न चेतावनी दिएको छ ।