काठमाडौँ, साउन १९ गते । सरोकारवालाहरुले मूलधारको पत्रकारितामा कला क्षेत्रले उचित स्थान नपाएको धारणा व्यक्त गर्नुभएको छ । यहाँ जारी ‘किताब जात्रा’को दोस्रो दिन ‘मूलधारबाट सधैँ उपेक्षित कला’ विषयक छलफलमा सरोकारवालाले मूलधारको पत्रकारितामा कलासम्बन्धी समाचारको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरेले अहिले मूलधार केलाई भन्ने बहस सुरु भएकाले पहिले त्यसमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । यद्यपि कला क्षेत्रमा खोज पत्रकारिताको अभ्यास कम भएकाले पनि उचित स्थान नपाएको हुनसक्ने उहाँको बुझाइ थियो । “मूलधारको पत्रकारिताले कला क्षेत्र उपेक्षामा राखेको आभास हुने गरेको छ, पछिल्लो समय त पत्रिकाबाट कला पृष्ठ पनि हटिसकेको अवस्था छ”, घिमिरेले भन्नुभयो, “मूलधारका सञ्चारमाध्यममा कलासम्बन्धी समाचार कति सङ्ख्यामा प्रकाशित भए र कुन स्थान पाए भन्नेभन्दा पनि उक्त सामग्री पठनीय छ वा छैन भन्नेले महत्व राख्छ ।”

राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार मधु शाहीले पत्रकारितामा कलासम्बन्धी समाचारलाई महत्व दिनुपर्ने उल्लेख गर्दै कलाले समाजप्रतिको सोचाइको दायरा फराकिलो बनाउन सहयोग पुर्याउनेमा जोड दिनुभयो । “कला पनि पत्रकारिताको महत्त्वपूर्ण विधा हो, कलासम्बन्धी सामग्रीले कम स्थान पाउँदा कलामा आबद्ध व्यक्ति र रुचि राख्नेले सहज रूपमा सूचना नपाएको अवस्था छ ।”

उहाँले कलामा रुचि राख्नेहरूको समाजप्रतिको धारणा फराकिलो हुने गरेको बताउनुभयो । कलालाई व्यावसायिक रूपमा मात्रै हेर्ने र सम्पादकीय प्राथमिकतामा नपर्ने हुँदा यसले कम प्राथमिकता पाएको हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।

चलचित्र निर्देशक एवं कलाकार सुव्रत आचार्यले आर्थिक लगानी बढी हुने कलासम्बन्धी समाचारले मूलधारका सञ्चारमाध्यममा बढी स्थान पाउने गरेको विचार व्यक्त गर्नुभयो । “म आफैँ पनि लामो समय कला विधामै पत्रकारिता गरेको आएको हुँ, त्यो बेलामा कलासम्बन्धी समाचार पत्रिकामा कुनै स्थानमा अटाए मात्रै हुन्थ्यो भन्ने अपेक्षा हुन्थ्यो”, उहाँले भन्नुभयो, “कलाकार वा स्रष्टाको निधनबाहेकका समाचारले पहिलो पृष्ठमा कमै स्थान पाउथे ।”