गलकोट, साउन १९ गते । जिल्लामा साउनयता २६ जनामा डेङ्गु पुष्टि भएको तथ्याङ्क छ । जसमध्ये गलकोट नगरपालिकामा मात्रै २४ जनामा डेङ्गु पुष्टि भएको छ । गलकोट अहिले डेङ्गु र स्क्रबटाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार धवलागिरि अस्पतालमा मात्रै दुई जनामा डेङ्गु पुष्टि भएको थियो । अहिले गलकोट नगर अस्पतालमा डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँचजनामा डेङ्गु र स्क्रब टाइफस पुष्टि भइरहेको उहाँले बताउनुभयो ।

गलकोट नगरपालिकामा असारदेखि हालसम्म ४१ जनामा डेङ्गु पुष्टि भइसकेको गलकोट नगर स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जनामा स्क्रब टाइफसका बिरामी फेलापरेका छन् ।

अहिले अधिकांशले घरमै उपचार गराइराख्नुभएका छ भने जटिल समस्या देखिएकाले गलकोट नगर अस्पतालमा उपचार गराइराखेको पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो, “दुई वर्षअघिसम्म डेङ्गु र स्क्रब टाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले छिमेकी पालिका ताराखोला र बडिगाडका बिरामी नगर अस्पताल आउने गरेका छन् ।यसअघि जिल्ला सदरमुकाम बागलुङ बजार जानुपर्ने बाध्यता थियो ।”

डेङ्गु र स्क्रब टाइफसको जोखिम गलकोट नगरपालिकामा देखिएपछि उच्च सतर्कता अपनायएको छ । खोज र नष्ट गरौँ अभियान गलकोटमा तीव्ररुपमा चलिरहेको बताउँदै नगर स्वास्थ्य शाखा पौडेलले सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिने बताउनुभयो । गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोको बिरामी आउने गरेको गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले जानकारी दिनुभयो ।

पौडेलले अस्पताल आएकामध्ये ३० प्रतिशतमा डेङ्गु र स्क्रब टाइफस पुष्टि भएको जानकारी दिनुभयो । “दैनिक २० देखि २५ जनालाई उच्च ज्वरो देखिएपछि अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सातजनासम्ममा डेङ्गु र स्क्रब टाइफसका बिरामी पुष्टि भएका छन्”, पौडेलले भन्नुभयो ।

अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ ।