फाइल तस्वीर
दाङ, साउन १८ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा गठन भएको लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुलाई १० दिनपछि जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री चेतनारायण आर्चायको नेतृत्वमा गठन भएको सरकारका आठ जना विनाविभागीय मन्त्रीहरुलाई आज शुक्रबार मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता आर्चायको नेतृत्वमा साउन ९ गते गठन भएको सरकारमा मुख्यमन्त्रीसहित एमालेलाई पाँच वटा र साझेदार दल नेपाली काङ्ग्रेसलाई चार मन्त्रालय भागबण्डा गरिएको थियो । मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएको डेढ हप्तापछि मात्रै मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्य विभाजनसँगै सरकारलाई पूर्णता दिन खोजेता पनि काङग्रेसभित्रको आन्तरिक कलहले मन्त्रिमण्डलले अझै पूर्णता पाउन सकेको छैन ।

आज गरिएको कार्यविभाजन अनुसार काङ्ग्रेसबाट मन्त्री बन्नुभएका मध्ये धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालय, बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय र प्रचण्डविक्रम न्यौपानेलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नेपाली काङ्ग्रेसको भागमा परेको एक मन्त्री नियुक्त गर्नेकाम अझै बाँकी छ । काङ्ग्रेस भित्रको चरम आन्तरिक कलहले मन्त्रीको लागि नाम पठाउन सकेको छैन ।

आज जिम्मेवारी पाएका मन्त्रीहरुमा एमालेबाट मन्त्रीभएका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, खेम सारुलाई स्वास्थ्य मन्त्रालय र सीता शर्मा चौधरीलाई ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सत्ता गठबन्धनमा नयाँ समीकरण बनेपछि १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्रीसहित पाँच, नेपाली काङ्ग्रेसले चार र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो । मन्त्रिमण्डलले पूर्णता नपाएकाले मुख्यमन्त्री आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालय आफैंसँग राख्नुभएको छ । यी तीन मन्त्रालयमा एउटा काङ्ग्रेसको भागमा र एक/एक मन्त्रालय दुई साना दलको भागमा परेको छ ।