फाइल तस्वीर
धनगढी, साउन १८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज पदबाट राजीनामा दिने हुनुभएको छ । आज शुक्रबार दिउँसो ४ बजेका लागि विश्वासको मत लिने कार्यसूची रहेता पनि मुख्यमन्त्री सोडारीले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

काङ्ग्रेस–एमालेबीच नयाँ गठबन्धन बनेपछि अल्पमतमा पर्नुभएका सोडारी मुख्यमन्त्री बन्दा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीले समर्थन गरेको थियो । गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको छ । उहाँ अल्पमतमा परेकै कारण सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश हुन सकेको छ । यद्यपि, मुख्यमन्त्री सोडारीले बहुमत जुटाउने अवस्था नरहँदा नरहँदै पनि एक महिना अल्पमतको सरकार चलाइरेको अवस्था छ ।

आफ्नै समर्थनमा मुख्यमन्त्री बन्नुभएका एकीकृत समाजवादीका सोडारीलाई एमालेले पछि विश्वासको मत दिन आनाकानी गर्दै आएको र अन्तिम समयमा विश्वासको मत दिएको थियो । एमालेबाट विभाजित भएको बनेको एकीकृत समाजवादीलाई एमालेले राजनीतिक रुपमा कर्नरमा पार्न पनि समय समयमा असजिलो बनाउँदै आएको थियो । एमाले वाध्यात्मक अवस्थामा बाहेक एकीकृत समाजवादीको अस्तित्व स्वीकार गर्न चाहँदैन ।


प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने कार्यसूची भएता पनि आजको बैठकलाई काङ्ग्रेस–एमालेले अनुपस्थिति रहेर बहिस्कार गर्न सक्ने बताइएको छ । प्रदेशसभाका यी दुई ठूला दलले बैठक नै बहिस्कार गरेको खण्डमा गणपुरक सङ्ख्या पुग्न समेत समस्या हुने देखिन्छ । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि मुख्यमन्त्री सोडारीको विपक्षमा छन् ।

कुल ५३ सदस्य सङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशसभामा नेपाली काङ्ग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद रहेका छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि कम्तिमा पनि २७ मतको आवश्यकता हुन्छ । सोडारीको पक्षमा बहुमत पुग्ने कुनै आधार नभएकाले आज उहाँले विश्वासको मत नलिकनै राजीनामा दिएर सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुहुने भएको छ ।