फाइल तस्वीर
दमौली, साउन १८ गते । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक दुई लाख रुपैयाँका दरले छ लाख रुपैयाँ प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिने उहाँले बताउनुभयो ।

पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक ५० हजार रुपैयाँका दरले रकम प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीले पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । रासस