फाइल तस्वीर
काभ्रेपलाञ्चोक, साउन १७ गते । काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कूलमा आजदेखि विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुलिस स्कूलद्वारा आयोजित सो प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा काठमाडौँ उपत्यकासहित अन्य जिल्लाका २८ विद्यालयका एक सय १९ खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको आज एक समारोहबीच नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष उदयकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । प्रतियोगितामा यू–११, यू–१३ र यू–१६ वर्ष उमेर समूहका छात्रछात्राले ६ विधामा प्रतिस्पर्धा गर्ने स्कूलका प्राचार्य माहेन पौडेलले जानकारी दिनुभयो ।

आयोजकका अनुसार सङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो । उद्घाटनका अवसरमा स्कूलका विद्यार्थीले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।