फाइल तस्वीर
महोत्तरी, साउन १७ गते । जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए ।

पस्रदै, उठ्दै फेरि पस्रदै । आफू पस्रदा (लम्पसार पर्दा) ओगटेको दुरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै उद्देश्य शिव दर्शन । सबैको एउटै वाणि ‘बोल बम !’

टुटेश्वरनाथ मन्दिरबाट १८ किमी दक्षिणको माण्डवीगङ्गा (मडहा), बरुणमति (बेलगाछी) र स्वर्णमति (सोनी) नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि बुधबार पस्रदै यात्रा सुरु गरेका हुन् ।

बर्दिबास–५ को चुरे शृङ्खलाको पहाडी थुम्कोमा अवस्थित टुटेश्वर मन्दिरलाई मधेसको कैलाश र नेपालको बाबाधाम भनिन्छ । अनादिकालको यो शिवलिङ्गको दर्शनबाट सुख, सन्तोष प्राप्त हुने विश्वासका आधारमा श्रद्धालुले पस्रदै यात्रा गर्ने चलन बसको ३४ वर्ष भएको स्थानीय ७२३ वर्षीय वासुदेव महतोले बताउनुभयो । “वि सं २०४८ साउन १७ गते पहिलो पटक टुटेश्वर दर्शनका लागि दण्डीयात्रा ठगा साहसँग मिलेर दुईजनाले सुरु गरेका थियौँ । यसपटक ३४औँ यात्रा हो”, उहाँले भन्नुभयो ।

बर्सेनि यात्रामा सहभागी हुँदा आफू सधैँ उर्जावान हुने गरेको महतोको बुझाइ छ । दुईजनाबाट सुरु भएको यात्रामा यसवर्ष करिब ३० बढी श्रद्धालु सहभागी भएको उहाँले जानकारी दिनुभयो । यसपाली साउने औँसीका दिन बिहान सभाप्रहर बित्नुपूर्वको माङ्गालिक बेलामा जल चढाउने तालिका बनाएर यात्रा थालिएको उहाँको भनाइ छ ।

त्रिवेणीमा ब्राह्मणको स्वस्तिवाचन, पाठबीच यात्रा सङ्कल्प गरेर कम्मरमा जल झुण्ड्याइ पस्रदै अघि बढेका श्रद्धालु भक्तजनले पाँचौँ दिन बिहान सभाप्रहर बित्नअघि टुटेश्वरनाथ शिवलिङ्गमा जल, बेलपत्र र जौँ चढाएर दर्शन गर्ने तालिका बनाएका छन् ।

“हामी पाँचौँ दिन बिहान भोलेबाबाको शरणमा पुग्छौँ”, दिपु यादवले भन्नुभयो, “पहिला हातखुट्टा दुख्ने, राम्री नचाल्ने समस्या थियो । यात्रामा सहभागी हुन थालेपछि हिँडडुल गर्नसक्ने भएको छु । यसवर्षको यात्रा ११ औँ पटकको हो ।”

यादवको प्रारम्भमा बोली लरबरिने समस्या पनि क्रमशः ठिक हुँदै गएको उहाँका छिमेकी बताउँछन् । शिव दर्शनका लागि कष्टकर यो विधिबाट कुनै शारीरिक कष्ट महसुस नगरिएको यात्रामा सहभागी बताउँछन् ।

“एकपटक लम्पसार पर्दा हातले जति दूरीमा रेखा खिच्न भ्याइन्छ, अर्को पटक त्यही रेखामा लम्पसार परेर यात्रा अघि बढाइन्छ । मिथिलामा बोलीचालीमा ‘दण्डी’ भनिने यस यात्राका श्रद्धालुलाई ‘दण्डीबम’ भनिन्छ । साउनमा यो यात्राका म्ँधइम्ब्ँट शिव दर्शन गरेमा मन शान्ति र स्वस्थ महसुस हुने गर्दछ”, गौशाला–८ का ४५ वर्षीय मायाराम साहले भन्नुभयो । यसवर्ष १०औँ पटकको दण्डीयात्रा थालेको उहाँले बताउनुभयो ।

“यो हठयोगी यात्रा हो, नाशवान् शरीरलाई के दुःख के सुख ? शिव दर्शनको लालसाले कहिल्यै कष्ट अनुभव गरिएन”, साहले भन्नुभयो । शान्ति प्राप्ति र भगवान् दर्शनका लागि यात्रा कष्टपूर्ण भए पनि नियमित गर्ने उहाँको भनाइ छ ।

पवित्रग्रन्थ श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र हठयोगको ज्ञान अर्जुनलाई दिनुभएको प्रसङ्ग कोट्याउँदै साहले आपूmहरुको यात्रा शिव दर्शन अभिलाषाको ‘हठ’ रहेको बताउनुभयो । यो यात्रामा धेरैजसो भाकल गरेका भेटिन्छन् ।

“शारीरिक कष्ट भएकाले टुटेश्वरनाथ पुगेर समस्या समाधानका लागि भाकल गरेको थिएँ । शारीरिक स्वस्थता भएसँगै यस वर्ष दोस्रो पटक यो यात्रामा सहभागी भएको हुँ”, गौशाला–४ का ४० वर्षीय श्याम महतोले भन्नुभयो । यस वर्ष नयाँ यात्रा थाल्ने १० जनाभन्दा बढी भेटिएका छन् ।

शारीरिक कष्ट हटेर सुख, शान्ति प्राप्त हुने विश्वासमा यात्रा सुरु गरेको गौशाला–४ का रामजतन महतोले उल्लेख गर्नुभयो । आजभन्दा ३४ वर्ष अगाडि सुरु भएको यो यात्रामा गौशाला नगरक्षेत्रका विभिन्न बस्तीका श्रद्धालुको उपस्थिति बढी देखिन्छ । पौराणिककालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवीले सखीहरुसहित स्नानक्रिडा गर्ने नदीलाई माण्डवीगङ्गा भनिएको यात्री बताउँछन् ।

“यो त्रिवेणीको स्नान सम्पूर्ण पाप नासक छ”, ३४ वर्षअघि दण्डीयात्रा थाल्ने वासुदेव महतोले भन्नुभयो, “पछि यी र यिनका सहायक नदीको नाम बिगार्दै लगेका छन् । अब बर्दिबास र गौशाला नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धन गर्न पौराणिककालको नाम प्रचलनमा ल्याउनुपर्छ ।” त्रिवेणी सङ्गमका माण्डवीगङ्गा, बरुणमती र स्वर्णमतीलाई ठेकदारले राजमार्ग निर्माणका क्रममा मडहा, बेलगाछी र सोनी नामाकरण गरीदिँदा पौराणिक परिचय ओझलिँदै गएको वासुदेवले गुनासो गर्नुभयो ।

त्रिवेणीबाट सुरु यो यात्राका दण्डीबम चार दिन बाटोमा रात्रि विश्राम गर्नेछन् । पहिलो दिन गौशाला–८ को स्वर्णमती नदी किनारको शम्भुस्थानमा रात्रि विश्राम गरेका यात्री आज गौशाला–८ को ढल्केवरमा रात्रि विश्राम गर्नेछन् । तेस्रो दिन पूर्वपश्चिम राजमार्गको टुटेश्वरचोक र चौँथो दिन टुटेश्वर बस्तीको पुछारमा रात्रि विश्राम गरिने दण्डीयात्रीको भनाइ छ ।

दर्शन गर्ने पाँचौँ दिन बिहानलाई एक किलोमिटर दूरी राखि अघिल्लो दिन राति विश्राम गरिने वासुदेवले जानकारी दिनुभयो । यस वर्ष जल चढाउने दिन आइतबार परेको बताउँदै उहाँले साउनभरि यहाँ दैनिक सयौँ दर्शनार्थी पुग्ने गरेका जानकारी दिनुभयो ।

सोमबार विशेष मेला लाग्ने गरेको छ । बाटोमा यात्रीका लागि विभिन्न दाताले भोजन, पानी, सर्वत, चिया र बसोबासका सामान जुटाएका छन् । साउनको यो अलौकिक यात्रामा दाताको सेवा र सहयोगभाव पनि आपूmहरुका लागि उर्जा हुने गरेको यात्रीहरुको भनाइ छ । पस्रदापस्रदै पसिनाले निथ्रुक्क भएका यात्रीलाई कति श्रद्धालुले शीतल जल जिउमा खन्याइ रहेका देखिन्छ । कोही शीतल सर्वत हातमा लिएर सेवाको अवसर पर्खेका देखिन्छन् ।

दिउँसो प्रचण्ड राप हुनेहुँदा यात्रीले प्रत्येक दिन पहिलो प्रहर ९बिहान भाले बासेसँगै० यात्रा गर्ने गरेका छन् । यात्रामा चियाखाजा खाने, भोजन गर्ने र रात्रि विश्रामको निश्चित तालिकाभित्र रहेर अगाडि बढ्ने दण्डीबमले बताएका छन् । टुटेश्वरनाथसँग जोडिएका पौराणिककालका कैयौँं किम्बदन्ती छन् ।

द्वापरयुगमा यो प्राचीन शिवालयमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा रहेको संस्कृतिविद् बताउँछन् । “पाण्डव वनबासमा थिए, कौरवसँगको युद्ध जित्न पाण्डवलाई दिव्यास्त्र आवश्यकता थियो । अर्जुनले यसै प्रयोजनका लागि यहाँ घोर तपस्या गरेर शिवजीलाई प्रशन्न पारी पाशुपतास्त्र प्राप्त गरेका हुन्”, प्राचीन संस्कृतिका अध्येतासमेत रहनुभएका होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले भन्नुभयो । तत्कालीन समयमा कुँदिएका पत्थर र यहाँ भेटिएका अन्य सामग्रीको अध्ययनबाट विद्वानहरुले यो निष्कर्ष बनाएका निकाले उहाँको भनाइ छ ।

“रामायणकालमा विदेहराज राजा जनकको कर्मभूमि, ज्ञानी ऋषिहरुको तपोभूमि र राजकन्याहरुको विहार गर्ने थलोका रुपमा यो ठाउँलाई चिनाउने गरिएको कार्कीले बताउनुभयो । किम्बदन्तीमा पौराणिक कथा जोडिए यस क्षेत्रको खोजी वि सं २००२ देखि भएको पाइएको छ”, संस्कृतिविद् कार्कीले भन्नुभयो ।

वि सं २००२ मा डिठ्ठा गौरीनारायण गिरीले वन फँडानी गरी बस्ती बसाउने क्रममा यहाँ प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला पारेका बर्दिबास–५ का वडाअध्यक्ष कहारमान स्याङ्वाले जानकारी दिनुभयो । “त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको हो”, उहाँले भन्नुभयो ।

शिवलिङ्ग बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले बताउनुभयो । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री यादवका अनुसार चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशबाट गरी एक करोड रुपैयाँ बढी रकम विनियोजन भएको छ । विनियोजित रकम टुटेश्वरको विकासका लागि योजनाबद्ध काम थाल्न सर्वप्रथम विस्तृत परियोजना प्रस्ताव तयार गर्ने र सोअनुसार काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

“टुटेश्वरस्थान अतिप्राचीन धार्मिक सम्पदा हो, यो हाम्रो पहिचान र समृद्धिको आधार पनि हो”, मन्त्री यादवले भन्नुभयो, “अब यहाँ धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजनाबद्ध काम अघि बढ्छन् ।” यस पूण्यभूमिको संरक्षण र सम्बर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।