नयाँदिल्ली, साउन १७ गते । भारतको हिमाञ्चल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताउनुभएको छ ।

शिमलाको रामपुर तहसील, मन्डी जिल्लाको पधार तहसील र कुल्लुको जाओ, निर्मल गाउँमा बर्षाले निम्त्याएको विपद्पछि राष्ट्रिय विपद् व्यवस्थापन बल (एसडिआरएफ), राज्यस्तरीय विपद् व्यवस्थापन बल (एसडीआरएफ) प्रहरी, अग्नि नियन्त्रण सेवालगायतका टोलीहरू राहत तथा उद्धार कार्यमा संलग्न छन् ।

राहत र उद्धार कार्यका लागि स्थानीय प्रशासनलाई निर्देशन दिई निगरानी गरिरहेको र सम्भावित थप सहयोग गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत जारी एक सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी हिमाञ्चल प्रदेशका राजस्व मन्त्री जगत सिंह नेगीले शिमलाको सामेज क्षेत्रमा ३६ जना र मन्डी जिल्लाको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको र दुई जनाको शव फेला परेको जनाउनुभएको छ ।

समाचार तयार पार्दासम्म शिमला जिल्लाको सामेज क्षेत्रमा ३६ जना, मन्डीको टिक्केन क्षेत्रमा आठ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । कुल्लु क्षेत्रमा मलानाको विद्युत परियोजनाको ब्यारेज क्षतिग्रस्त हुँदा मानिसहरू पनि फसेको र सडक सञ्जाल अवरुद्ध भएको छ ।

हिमाञ्चल प्रदेशमा भएको आकस्मिक र भारी वर्षाले पुगेको क्षति र जनजीवन प्रभावित भएपछि सङ्घीय स्वास्थ्यमन्त्री जगत प्रकाश नड्डाले केन्द्र सरकारबाट सहयोगको आश्वासन दिनुभएको छ । उहाँले हिमाञ्चल विधानसभाका पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता जयराम ठाकुर र भाजपाका प्रदेश अध्यक्षसँग पनि कुरा गरी सबै भाजपाका कार्यकर्तालाई राहत कार्यमा संलग्न हुन निर्देशन दिनुभएको छ ।

यसैबीच, मन्डी जिल्ला प्रशासनले घटनाबारे सचेत गराउँदै बासिन्दालाई ब्यास नदीको छेउछाउमा नजान चेतावनी जारी गरेको छ ।