फाइल तस्वीर
काठमाडौँ, साउन १६ गते । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भएका हुन् । १६ मिनेट चलेको खेलको पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भएका हुन् ।

यसैगरी २० मिनेटको दोस्रो सेट प्रिन्सले १०–२१ ले गुमाए । समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन र आयरल्यान्डका नाट गुयेनकासँग पनि समान २–० सेटको हार ब्यहोरेका थिए ।

यससँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सात जना खेलाडीमध्ये छ जना खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन् । अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ ।