फाइल तस्वीर ।

नयाँ दिल्ली, साउन १६ गते । वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ । केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल, सडक र सवारीसाधन बगेका छन् ।

हालसम्म ११६ जना घाइतेको उद्धार गरी अस्पताल लगिएको दैनिक भास्करमा उल्लेख छ। उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन्। सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रात परेकाले साँझ उद्धार रोकिएको थियो । आजै बिहान फेरि उद्धार कार्य सुरु हुनेछ। एनडीआरएफका टोली कमाण्डर एसआई सञ्जय सोनीले आज बिहान ७ बजेदेखि उद्धार कार्य सुरु हुने बताएका समाचार बीबीसीमा रहेको छ।

कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ। उद्धारका लागि वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो तर वर्षाका कारण काम गर्न नसकी कोझिकोड फर्किएको जनाइएको छ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेशका ८ जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । जसका कारण यहाँका सबै विद्यालय बन्द रहनेछन् । दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ ।