फाइल तस्वीर
काठमाडौँ, साउन १६ गते । मनसुनी वायुको प्रभावले देशभरको मौसममा बदली छ । मनसुनी वायुको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज दिनभर मुलुकभरीको मौसममा आंशिक प्रभाव पर्नुको साथै बदली हुनेछ । देशका सात वटै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार आज बुधबार राति पनि देशभरको मौसममा साधरणतया बदली हुनेछ भने सात वटै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।