फाइल तस्वीरः मुख्यमन्त्री बहादुरसिंह लामा ।

मकवानपुर, साउन १५ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामाले मुख्यमन्त्री नियुक्त भएको एक सातभित्रै प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।


केन्द्रीय सत्ताको नयाँ समीकरण बनेसँगै बागमती प्रदेशमा पनि नेपाली काङ्ग्रेस र एमाले गठबन्धनबाट लामा साउन ९ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

आज मङ्गलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्नुहुने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

कुल ११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकारलाई कम्तिमा पनि ५६ जना सांसदको विश्वासको मत आवश्यक पर्दछ । बागमती प्रदेशमा नेपाली काङ्ग्रेसको ३७ र सत्ता साझेदार दल एमालेको २७ जना सांसदको समर्थन छ । यसरी हेर्दा मुख्यमन्त्री लामाले सहजै विश्वासको मत पाउनुहुने निश्चित छ । मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्रष्ट देखिन्छ ।

प्रदेशसभामा विपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) को ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद् रहेका छन् ।

नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री बन्नुभएका शालिकराम जकरट्टेलले एमाले–काङ्ग्रेसको नयाँ गठबन्धन बनेपछि पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएसँगै एमाले—काङ्ग्रेसको समीकरणबाट लामाले साउन ९ गते मुख्यमन्त्रीका लागिमा दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन लामालाई नियुक्त गर्नुभएको र १० गते मुख्यमन्त्रीको शपथ गराउनुभएको थियो ।