फाइल तस्वीर
बाजुरा, साउन १४ गते । जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरेका हुन् ।

कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्नमात्रै बाँकी रहेको जानकारी दिनुभयो छ । सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो ।

कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो । हाटबजार सञ्चालनमा ल्याउन खाद्य अधिकार सञ्जालका अध्यक्ष लक्ष्मीराज उपाध्यायले आग्रह गर्नुभयो ।

चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले कृषि शाखाले जनाएको छ । कृषिउपज सङ्कलन केन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस वर्षभित्र सञ्चालन गर्ने निर्णय गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताउनुभयो । कृषिउपज सङ्कलन केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन गरी दसैँअगावै सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेका वस्तुलाई सङ्कलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।