फाइल तस्वीर मुख्यमन्त्री बहादुरसिंह लामा ।
काठमाडौँ, साउन १३ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत लिन लाग्नुभएको छ । साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लामाले पर्सी साउन १५ गते मङ्गलबार प्रदेशसभा बैठकबाट विश्वास मत लिने तयारी गर्नुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली काङ्ग्रेसबीच बनेको सत्तागठबन्धनपछि बागमती प्रदेश सरकारको नेतृत्वमा पुग्नुभएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन हेटौंडास्थित प्रदेशसभा सचिवालयमा पत्रसमेत दर्ता गराइसक्नुभएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्रीको पत्रलाई आधारमान्दै बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विश्वासको मत प्रयोजनका लागि पर्सी साउन १५ गते मङ्गलबार दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान समेत गरिसक्नुभएको छ ।

नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा नेपाली काङ्ग्रेसका ३७ र एमालेका २७ जना गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थनबाट मुख्यमन्त्री बन्नुभएको हो ।