नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा ।
काठमाडौँ, साउन १० गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झालाई थप अनुसन्धानका लागि थुनामै राख्न आदेश गरेको छ । भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका झालाई सर्वोच्च अदालतले थुनामा राख्न आदेश दिएको हो ।


सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमाथि अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनिएको छ ।

सर्वोच्च अदालतले काठमाडौँ जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै बेचन झालाई थुनामा राख्न ठहर गरेको छ । असार १४ गते पक्राउ परेका झाका तर्फबाट उनका छोरा दिब्यान्सु शेखर झाले गत असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सार्दै आएको थियो। बिहीबार सुनुवाइ हुँदै उक्त निवेदनलाई टुङ्गाएको छ। अब जिल्ला अदालतले नै थुनाबारे निर्णय गर्नुपर्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा झाको बयान सकिएको र अभियुक्त झा कै बयानको आधारमा अन्य व्यक्तिहरू पनि तानिन सक्ने हुँदा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।