फाइल तस्वीर
काठमाडौँ, साउन १० गते । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पुरस्कारका लागि प्रतिभा छनौट समितिबाट सिफारिस भई आएबमोजिम सुरभि–अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् लघुकथा समाज र ललितपुर कला संस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने निर्णय भएको उहाँले बताउनुभयो ।

यसैगरी, सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार विद्याप्रसाद घिमिरे र सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार रामचन्द्र दाहाललाई प्रदान गरिने भएको छ । पुरस्कारका लागि प्रतिभा छनौट तथा मूल्याङ्कन समितिमा संयोजक गोपी मैनाली र सदस्यद्वयमा ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेल हुनुहुन्थ्यो । साउनको तेस्रो शनिबार १९ गते प्रतिष्ठानको सोह्रौँ साधारण–सभाका दिन चारै जना स्रष्टालाई पुरस्कार प्रदान गरिने भएको छ ।