फाइल तस्वीरः भन्सार विभाग ।


काठमाडौँ, साउन ८ गते । नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको विवरणअनुसार कुल नेपालले पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा जम्मा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ बराबरको बस्तु निर्यात गरेको देखिएको हो ।

यसरी हेर्दा नेपालले गत आ व मा कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । आयात र निर्यातको तथ्याङ्कलाई हेर्दा नेपालको वैदेशिक व्यापार घाटा चुलिंदै गएको छ ।

यद्यपि, विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९/८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबर वस्तु आयात भएको थियो भने जम्मा एक खर्ब ५७ अर्ब १४ करोड छ लाख बराबरको वस्तु निर्यात गरेको थियो । यसरी हेर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ पुगेको थियो ।

आव २०७९/८० मा वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबर थियो भने गत आव २०८०÷८१ मा आयात एक दशमलव १६, निर्यात तीन दशमलव ०३, समग्र वैदेशिक व्यापार एक दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको देखिन्छ ।

गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापारघाटा देखिएको छ । नेपालले भारतबाट मात्रै नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा एक खर्ब तीन अर्ब १७ करोड रुपैयाँ बराबर मात्रै वस्तु निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल आठ खर्ब ९३ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार घाटा छ ।

नेपालको अर्को छिमेकीमुलुक चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपैयाँ बराबर व्यापार घाटा छ । चीनबाट दुई खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकहरुमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँ स्थानमा छ ।

व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट ३५ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८२ करोड २१ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । जसबाट ४६ करोड ७५ लाख रुपैयाँ व्यापार नाफा देखिएको हो ।

बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट दुई करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग ४६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार नाफा भएको छ ।

गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा एक खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाख रुपैयाँको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ बराबरको एलपी ग्याँस आयात भएको छ । ३९ अर्ब तीन करोड ४३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको आयात भएको तथ्याङ्क छ ।

यसैगरी २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आवमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोड २४ लाख रुपैयाँ बराबरको कार्पेट र सात अर्ब ९३ करोड ८१ लख रुपैयाँ बराबरको अलैँची निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।