फाइल तस्वीरः नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा ।


मकवानपुर, साउन ८ गते । बागमती प्रदेशको रिक्त मुख्यमन्त्रीका लागि नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले दावी पेश गर्नुभएको छ । बागमती प्रदेशसभाको काङग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ जना सांसदको समर्थनसहित लामाले आज मङ्गलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुख शर्माले आइतबार नै आज मङ्गलबार साँझ ५ बजेसम्मको समयसीमा तोकेर दलहरुलाई आह्वान गर्नुभएको थियो ।

आज साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले काङ्ग्रेस संसदीय नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ । नुवाकोटबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित लामा पहिलो बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । बागमती प्रदेशमा पहिलो पटक काङ्ग्रेसले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको छ । काङ्ग्रेस सांसद लामा तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति समेत हुनुहुने छ ।

हिजो सोमबार नै मुख्यमन्त्रीमा दावी पेश गर्ने भनिएता पनि काङ्ग्रेस र एमालेबीच मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्रीमा दावी गर्न एक दिन ढिलाई भएको थियो । हिजो साँझ मन्त्रालय बाँडफाँडको विषयमा टुङ्गो लागेपछि मुख्यमन्त्रीमा दावी पेश गरिएको हो । सहमति अनुसार मुख्यमन्त्रीसहित काङ्ग्रेसले ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने छन् ।

कुल ११० सदस्य रहेको बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । काङग्रेस र एमाले मिलेपछि ६४ गठनबन्धनसँग ६४ जना सांसद रहेकाछन् । काङग्रेसका ३७ र एमालेका २७ जना बाहेका बागमती पप्रदेशसभामा नेकपा माओवादी केन्द्रका २१, सभामुखसहित राप्रपाका १३ जना, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।