काठमाडौँ, साउन ८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा आज साधारणदेखि पूर्णतया बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेकोे छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।