फाइल तस्वीरः अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।


काठमाडौँ, साउन ७ गते । अमेरिकका राष्ट्रपति जो बाइडेनले आगामी चार महिना पछि हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । राष्ट्रपति बाइडेनको स्वास्थ्य अवस्थालाई ध्यान दिंदै डेमोक्र्याट नेताहरूले उहाँलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएपछि बाइडेन उम्मेदवारी नदिने निर्णयमा पुग्नुभएको हो ।

डेमोक्र्याटको तर्फबाट अब उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार बनाउने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । उपराष्ट्रपति कमलालाई राष्ट्रपति बाइडेनले समर्थन गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनको लागि रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । राष्ट्रपति बाइडेनको निर्णय राष्ट्र र पार्टीको हितमा रहेको भनिएको छ । बाइडेनको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।’