फाइल तस्वीर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल ।

मकवानपुर साउन ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले राजीनामा दिने हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएपछि मुख्यमन्त्रीले राजीनामा दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठकमा प्रस्ताव दर्ता गराएको थियो । हिजो शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।

मुख्यमन्त्री जमरकट्टेल २०७९ साल पुस २५ गते मुख्यमन्त्री बन्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाको गठबन्धनबाट बागमती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमरकट्टे मुख्यमन्त्री बन्नुभएको थियो । पटक पटक सत्ता समीकरण परिवर्तन भएता पनि मुख्यमन्त्रीलाई कहिले एमाले त कहिले काङ्ग्रेसले साथ दिंदै आएको थियो । केन्द्रीय सत्तामा काङ्ग्रेस र एमालेको नयाँ समीकरण बनेपछि देशका सबै सातै प्रदेशमा यसको प्रभाव परेको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री भएकाहरुको पद धरापमा परेको छ ।

मुख्यमन्त्री जमरकट्टेलले बागमती प्रदेश सरकारबाट राजीनामा दिएपछि अब नेपाली काङ्ग्रेस र एमाले गठबन्धन सरकार बन्नेछ भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल बन्नेभएको छ ।