प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए । तीमध्ये एक थियो कृष्णप्रसाद कोइरालाको परिवार । माता दिब्या कोइरालाको त्यही ‘प्रवासी’ कोखमा १९७१ भदौ २४ गते जन्मिएको एउटा जीवन थियो– नेपालको समाजवादी आन्दोलनको एउटा अजर वृक्ष अर्थात् विशेश्वरप्रसाद (बिपी) कोइराला ।
साहित्यमा लेखिएको एउटा युगान्तकारी त्यही नाम थियो बिपी, जो नेपाली राजनीतिक इतिहासका पानाहरूमा उत्तिकै अजर अनि अमर छ । आधुनिक नेपालको नेतृत्वकर्ता अर्थात् उनै राजनेता बिपीको भौतिक शरीर आजकै दिन ४२ वर्षअघि अस्ताएको थियो यो धर्तीबाट । नेपाली राजनीतिको त्यो एउटा यस्तो दियो थियो, जो निभेर पनि त्यसको उज्यालो सधैँ नै उत्तिकै चम्किलो रहिरहनेछ । एक जुगमा एकचोटि मात्रै जन्मिन्छन् यस्ता ‘महामानव’हरू जो इतिहासका हरेक पानाहरूका परिपूरक भइरहन्छन्, बिपी नेपाली समाजको एउटा त्यस्तै बिम्ब हो, जो कहिल्यै मेटिँदैन ।
ब्रिटिस शासनको पिँजडाभित्र थुनिएको भारत स्वतन्त्र हुनका लागि आन्दोलनको पखेटा फिजाइरहेको थियो । त्यो समयमा भारतीय भूमिमै जन्मिएका बिपीको लालनपालन र शिक्षादीक्षा भारतमै भयो । त्यो भनेको विश्वव्यापीरुपमा प्रजातान्त्रिक आन्दोलनको लहर चलेको युग थियो । यसकारण बिपी आफैँमा त्यो युगको हुरीमा जन्मिएका पात्र हुनुहुन्थ्यो । कलिलै उमेरमा राजनीति र प्रजातन्त्रसँग पौँठेजोरी कसेका बिपीले नेपालमा पनि समाजवादको एउटा यस्तो मार्गचित्र कोर्नुभयो जो अहिलेको राजनीतिक बाटो पनि बनेको छ । यस हिसाबले बिपी एक युगको मात्रै होइन, युगौँयुग द्रष्टा पनि हुनुहुन्छ, जसको त्यो समयको राजनीतिक दृष्टि आजको बाटो बनेको छ ।
एक सय चारवर्षे राणाशासनको अन्त्यपछि पहिलोपटक २०१५ सालमा निर्वाचन भयो । राजनीतिक इतिहासमा नेपालमा भएको यो पहिलो आमचुनाव थियो । यही चुनावमा बहुमत ल्याएर बिपी देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो तर सत्तामा हर्ताकर्ता हुन नपाएको दरबारका आँखा लागे र दुई वर्ष पनि नपुग्दै जननिर्वाचित सरकार अदस्त गरेर दरबार आफैँ कार्यकारी हुन खोजियोे । राणा शासन अन्त्यका लागि बलिदान दिएका जनताका अधिकारमाथि फेरि राजा महेन्द्रले लोभीपापी आँखा लगाए । २०१७ पुस १ गते महेन्द्रले जनताका सारा मौलिक अधिकार खोसेर आफैँ कार्यकारी भएर देशको शासनसत्ता चलाउन थाले । जनताले निर्वाचित गरेका बिपीहरूलाई धमाधम जेल हाल्न थाले । देश बनाउने बिपीको हुटहुटी र त्यो सपनामाथि राजा महेन्द्रले तुषारापात गरिदिए । पहिलोपटक जननिर्वाचित प्रधानमन्त्रीले आफैँले लडेर ल्याएको प्रजातान्त्रको पूर्ण अभ्यास गर्नै पाउनु भएन ।
राजनीतिक जीवनका करिब १५ वर्ष बिपीले जेलमै बिताउनुभयो । त्यसबीचका करिब आठ वर्षजति उहाँको जीवन निर्वासित रह्यो भने चार वर्ष भारतका जेलमा कोचिनुप¥यो । देशनिकाला भएको कोइराला परिवार प्रवासमै रहँदा जन्मिएका बिपी कोइरालाले २००७ देखि २०१७ सालसम्म १० वर्ष र २०३३ देखि २०३९ सालसम्मको छ वर्ष गरी जम्मा १६ वर्षमात्रै देशभित्र खुल्ला जीवन बिताउन पाउनुभयो । जेल होस् या निर्वासन बिपीले हरपल राजनीतिक जीवन नै बाँच्नुभयो । राजनीतिकै लागि लड्नुभयो । जनताका अधिकारका लागि शासकसँग जीवनभरि लडिरहनुभयो ।
झन्डै १८ महिने उहाँको प्रधानमन्त्रीत्वकाल प्रजातन्त्रका लागि स्वर्णकाल पनि थियो । २००७ सालको क्रान्तिपछि नेपाली काङ्ग्रेसलले अभ्यास गरेको यो छोटो सत्ताभ्यास थियो । देशको आधुनिकीकरण अनि विकासको एउटा प्रस्थानविन्दु मात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरुआत पनि थियो । जहाँ समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना थियो । त्यो नै बिपी चिनाउने एउटा बिम्ब बनेको छ नेपाली राजनीतिमा । देशको कार्यकारी नेतृत्वकर्ता भएर उहाँले नेतृत्व गर्नुभएको करिब १८ महिनामै पनि देशको एउटा भविष्यरेखा कोरिएको थियो । बिपीले छोडेका तिनै पदचापहरूको बिजारोपण हो– नेपाली काङ्ग्रेस ।
त्यो बेला नेपाली काङ्ग्रेसले अख्तियार गरेका धेरै नीतिहरू काङ्ग्रेसको गर्भसिद्धान्त अर्थात् समाजवादी दर्शनकै बिम्बहरू थिए । त्यसअघि वीरगञ्जमा सम्पन्न नेपाली काङ्ग्रेसको छैटौँ महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रुपमा प्राणप्रतिष्ठा गरेको थियो । यही महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्ताव पारित गरेको थियो । बिपीले त्यो महाधिवेशनमा प्रस्तुत गरेको ‘समाजवादी’ घोषणापत्र पढेपछि तत्कालीन सभापति सुवर्णसमशेरले ‘हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुनसक्दछ भनी आफ्नो लक्ष्य बनाएका छौंँ । समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौँ’ भनेर कार्यकर्ताहरूलाई सुनाउनुभएको थियो । यसैको जगमा अहिले पनि नेपाली काङ्ग्रेस बाँचिरहेको छ । बिपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । बिपीको यही दृढता आज नेपाली राजनीतिको एउटा मार्गसिद्धान्त बनेको छ ।
कुनै बेला कम्युनिष्टहरूको विश्वव्यापीरुपमै जगजगी थियो । कम्युनिष्टहरूले जन्माएको गर्भनारा ‘साम्यवाद’को अभीष्टले एकप्रकारले भन्ने हो भने विश्वभरि नै उथलपुथल थियो । कम्युनिष्ट आन्दोलनले नेपाललाई पनि नछोएको होइन तर बिपीको ‘मेलमिलाप’को सिद्धान्तले ती सबैलाई एउटै मालामा गोलबद्ध गरिदियो । त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलन पनि जडसूत्रवादी अर्थात् रूढीवादी हुन पाएन । बिपीको त्यही दर्शन हो आजका कम्युनिष्टले अपनाएको ‘समाजवादी’ बाटो । तर समाजवादको त्यही गर्भसिद्धान्तबाट जन्मिएको नेपाली कांग्रेसले आज हिँडिरहेको बाटोले कहाँ पु¥याउने हो स्वयं आजका अधिकांश कांग्रेसी नेताहरुलाई पनि कुनै भेउ छैन ।
त्यतिबेला बिपीले भन्नुभए जस्तै आजको नेपाली समाजलाई समृद्धिको लक्ष्यसम्म पु¥याउनका लागि नेपाली काङ्ग्रेसले नै ‘समाजवादी’ आन्दोलनको नेतृत्व गर्नैपर्छ तर त्यसका लागि काङ्ग्रेसको नेतृत्व आफैँमा कस्तो छ भन्ने प्रश्न रहन्छ । बिपीका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरहरूमा बिपीको नाम पुकारेर उहाँले देख्नुभएको सपना र उहाँले हाम्रो काँधमाथि छोडेर जानुभएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पु¥याउन सक्दैनौँ ।
हरेक मान्छे आफैँमा पूर्ण हुन सक्दैन । त्यो कतै न कतै अपूर्ण रहन्छ । सबै सपनाहरू पूरा पनि हुँदैनन् । सबै लक्ष्यहरू पछ्याएर पनि गन्तव्यमा पुगी नै हालिन्छ भन्ने होइन तर हामीले पछ्याएका लक्ष्यहरू डग्मगाउनु हुँदैन । हामीले चालेका पाइलाहरू लर्खराउनु हुँदैन । बिपी व्यक्तिभन्दा बढी विचार हो । विचारभन्दा पनि अग्लो उहाँको समाजवादी आन्दोलन र सपना हो । हाम्रा पदचापहरूले अब ती आन्दोलन र सपनाका पाइलाहरू पछ्याउनुपर्छ । उहाँको विचार वरिपरि हामीले जुन राजनीति गरिरहेका छौँ जस्तो बाटो रोजिरहेका छौँ वा जस्तो संसार र समाजको परिकल्पना गरिरहेका छौँ मात्रै उहाँले छोड्नुभएका केही पदचाप मात्रै नछोड्ने हो भने हामी त्यो लक्ष्यमा पुग्नसक्छौँ । त्यसका लागि बाटो देखाउने कर्ताचाहिँ गतिलो हुनैपर्छ । मात्रै वर्षका दुई दिन बिपीका तस्बिरहरू फूलमालाले ढाक्दैमा वा अबिर खन्याउँदैमा बिपीका सच्चा अनुयायी बन्न सकिँदैन ।
आज हामी बिपीलाई नानाथरी उपमाहरू दिएर सम्झिरहेका छौँ । उहाँलाई गाली पनि गरिरहेका हुन्छौँ तर सच्चा दिल र दिमागबाट बिपीलाई कहिल्यै हटाउन सक्दैनौँ खासगरी उहाँको लक्ष्यलाई पछ्याउने र उहाँको आदर्शलाई अनुशरण गर्ने कम्तीमा एउटा राजनीतिज्ञले । उहाँलाई हामी ‘महामानव’ पनि भन्छौँ । कतिले त उहाँलाई भगवान् नै मान्छन् तर उहाँ एक मानव नै हो । तर मानव जातिलाई आफ्नो जीवनको मार्गदर्शन गर्ने एक महामानव । उहाँ एक मानव हो तर अनेक प्रतिभा र क्षमता भएको, जसका प्रतिभा र क्षमतालाई आजको एउटा सामान्य मान्छेले कहिल्यै भेट्न र मेट्न पनि सक्दैन ।
बिपीले बाँचेको एउटा युग बितिसकेको छ तर उहाँले त्यो युगमा देख्नुभएको त्यही एउटा राजनीतिक सपना आज पनि युगीन सपना बनेको छ । भोलि पनि बनिरहनेछ । मात्रै हामीले हामी हिँडिरहेका पाइलाहरू लर्खराएनौँ भने । बिपीले यो धर्ती छोड्नुभएको आज ४२ वर्ष पुगिसकेको छ । तथापि हामीलाई उहाँले छोडिजानुभएको कतिपय नीति, सिद्धान्त र आदर्शहरू युगौँयुगसम्म पनि हामीसँगै रहनेछन् । महामानव बिपीप्रति हार्दिक श्रद्धासुमन ।
(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)