फाइल तस्वीर
हेटौँडा, साउन ३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीमा दाबी पेस गर्दै काङ्ग्रेस

नेपाली काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका नेपाली काङ्ग्रेस र एमालेले काङ्ग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् ।

“दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा काङ्ग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, नेता लामाले भन्नुभयो, “काङ्ग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, पार्टीबीच कुनै विवाद छैन ।”

मुख्यमन्त्रीमा काङ्ग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो । “मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ, उहाँले विश्वासको मत नपाएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ”, थपलियाले भन्नुभयो, “प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रोतर्फबाट काङ्ग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ ।”

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताउनुभयो ।

विश्वासको मतका पक्षमा तीन दल

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन् । उहाँलाई एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने निर्णय गरेका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

एक सय १० सदस्यीय प्रदेशसभामा काङ्ग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न पार्टी संसदीय दलको बैठक आज बिहान ११ बजे आह्वान गरेको छ ।