फाइल तस्वीर
काठमाडौँ, साउन ६ गते । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७:१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।

पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।