राजविराज, साउन ५ गते । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् ।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उदेश्यले सिसी क्यामरा जडान गरिएका हुन् । राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यङ्की रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन् ।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो । जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उहाँले बताउनुभयो ।

यो सहरको बजार, बस पार्क, टेम्पु स्टेन्ड, माइक्रो स्टेन्ड, हाटबजारलगायत इतिहास बोकेको यस क्षेत्रका ठाउँमा अहिले व्यवस्थित गर्न नगरपालिका लागिपरेको अधिकृत गुरुङले बताउनुभयो ।

राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामरा जडानबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताउनुभयो ।