फाइल तस्वीर
बागलुङ, साउन ४ गते । बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत पाँच हजार रुपैयाँका दरले रकम वितरण गरेको हो ।

नगरपालिकाले पछुपन्छी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात आर्थिक वर्ष २०८०/८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि चार लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । उक्त बजेटबाट ८१ हल गोरु पाल्ने किसानले पाँच हजार रुपैयाँका दरले अनुदान रकम लिएको नगरपालिकाले जनाएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० निवेदन सङ्कलन भएको थियो । प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरेको नगर उपप्रमुख राजु खड्काको भनाइ छ ।

“एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक नगरपालिकाले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि नगरपालिकाले संरक्षण गर्ने अभियान चालेको हो” उपप्रमुख खड्काले भन्नुभयो “यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने नगरपालिकाको योजना छ, कम्तिमा एक किसान १० हजार रुपैयाँका दरले अनुदान दिने कार्यविधि मै उल्लेख छ, आगमी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई १० हजार रुपैयाँ दिनेगरी १० लाख रुपैयाँ बजेट बिनियोजन गर्ने योजना छ ।”

नगरपालिकाले पहिलोपटक गोरुपाल्ने किसानलाई अनुदान दिन थालेपनि अनुदानका हामीजस्ता किसान उत्साहित बनेको बागलुङ नगरपालिका–१३ का टेके सार्कीले बताउनुभयो । आगमी वर्ष प्रोत्साहनको रकम अझै बढ्न सके हलगोरु पाल्नेको सङ्ख्यामा वृद्धि हुने सार्कीको अपेक्षा रहेको छ ।

हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि नगरपालिकाले अभियानका रूपमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनभुयो । उहाँले मिनि टेलर हलो वितरणकार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भयो कि भन्ने नगरपालिकाले महशुस गरेर गरेको बताउनुभयो ।

“स्थानीय तहले कृषिमा आधुनिकरणको नाममा मिनि टेलर हलो वितरण गर्ने लह्डै चलेको छ, आवश्यकताको आधारमा हेरेर आधुनिकरण पनि गर्ने हो, व्यावसायीक खेती गर्न, शहर बजार नजिकै मिनि टेलर हलो उपयुक्त भएपनि गाउँ–गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो छ, मल मुत्रको प्रयोगसमेत कृषिमा अपरिहार्य छ भन्ने किसानले महशुस गरेका छन्” ।नगरप्रमुख श्रेष्ठले भन्नुभयो “अब मिनिटेलर हलो बितरण गर्ने हैन हल गोरु पाल्ने किसानलाई पोषण खर्चनै दिइन्छ, गोरुपाल्दा बातावरणसमेतमा सकरात्मक असर देखिने रहेछ ।”

नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ । गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो ।

कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरूप अनुदान दिइने र अनुदानले गोरु पालक किसानले गोरु पाल्ने कामलाई निरनतरता दिने नगरपालिकाको योजना रहेको छ ।

नगरपालिकाको पशु शाखाले किसानको गोठमा हल गोरुपालन गरे/नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिएको थियो ।