फाइल तस्वीर: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल ।


हेटौँडा, साउन २ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । केन्द्रीय सत्ता परिवर्तनको प्रभावले धरापमा पर्नुभएका मुख्यमन्त्री जमरकट्टेलले प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जमरकट्टेलले साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जमरकट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।